काठमाडौं । राजनीतिक हस्तक्षेप र बेथितिले ग्रस्त त्रिभुवन विश्वविद्यालयले तीन महिनादेखि नीति तथा कार्यक्रमसमेत ल्याउन सकेको छैन ।
नीति तथा कार्यक्रम नहुँदा उच्च शिक्षामा कसरी अगाडि बढ्ने अन्योलको अवस्थामा त्रिवि छ । शिक्षा मन्त्री महावीर पुनले त्रिविमा भुइँचालो ल्याउने प्रतिक्रिया त दिनुभएको छ । तर, त्रिविको बेथिति सुधारका लागि स्पष्ट खाका अहिलेसम्म ल्याउनु भएको छैन ।
त्रिभुवन विश्वविद्यालयको सिनेटले गत असार २६ गते अर्को साता नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको थियो । तर तीन महिना बित्दा पनि नीति तथा कार्यक्रम न त्रिवि पदाधिकारीले चासो देखाएका छन्, न शिक्षा मन्त्रालयको नेतृत्वले । विश्वविद्यालयको नीति तथा कार्यक्रमबारे प्रतिक्रिया लिँदा सहकुलपतिसमेत रहनुभएका शिक्षामन्त्री महावीर पुनले भन्नुभयो- अब विश्वविद्यालयमा भुइँचालो ल्याउनुपर्छ ।
उच्चशिक्षाको अध्ययन अनुसन्धानमा नयाँ योजनासहित विश्वविद्यालयलाई सही दिशानिर्देश गर्न नीति तथा कार्यक्रमसहितको योजना आवश्यक हुन्छ । तर मुलुकको उच्चशिक्षाको ८२ प्रतिशत भार रहेको यो संस्था नीति तथा कार्यक्रमविहीन अवस्थामा छ । बजेट र विभिन्न संकायमा उर्त्तीण विद्यार्थीको ग्रेसलिष्ट पारित गरेको विश्वविद्यालयले नीति तथा कार्यक्रम ल्याउन नसक्दा उच्चशिक्षाको मार्गदर्शनसहित धेरै समस्या देखिएको विश्वविद्यालयको भनाइ छ ।
नीति तथा कार्यक्रममा मुलुकका लागि आवश्यक जनशक्तिदेखि उच्चशिक्षा योजना, पाठ्यक्रम, परीक्षा प्रणाली, सुशासन, वित्तिय व्यवस्थापनदेखि अनुसन्धानात्मक शिक्षासम्मका विषयमा मार्गनिर्देश गर्ने गरिन्छ । तर योजनाविहीन रूपमा अघि बढ्नु भनेको विश्वविद्यालय सुन्यतामा रहनुजस्तै रहेको पूर्वउपुकलपतिहरू बताउँछन् ।
राजनीतिक हस्तक्षेपसहित अनेक खालका बेथितिले त्रिवि थिलथिलो बनेको छ । शैक्षिक गुणस्तरमै प्रश्न उठिरहेको छ । यस्तोमा विश्वद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै गुणस्तरीय र उत्कृष्टताको केन्द्र बनाउने गरी शिक्षामन्त्रीले तत्काल खाका ल्याउन आवश्यक छ ।