
पाल्पा । कालीगण्डकी करिडोर सडकअन्तर्गत पिपलडाँडा-रामपुर खण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
तानसेनदेखि रामपुरतर्फ जाँदै गरेको लु १३ प ८६३५ नम्बरको मोटरसाइकल र विपरित दिशा तर्फबाट आउँदै गरेको लु ७७ प ४५०५ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाइ दुर्घटना भएको हो । दुर्घटनामा परी लु १३ प ८६३५ नम्बरको मोटरसाईकल पछाडि सवार पाल्पाको बगनासकाली गाउँपालिका-९, चापपानीका २८ वर्षीय अर्जुन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका विकलाई स्थानीय र प्रहरीले रामपुर अस्पतालमा उपचारका लागि लगेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी होमप्रकाश चौधरीका अनुसार घाइते विकलाई अस्पताल पुर्याइ डाक्टरले जाँच गर्दा मृत घोषणा गरेका हुन् ।
कालीगण्डकी करिडोर सडकअन्तर्गत रामपुर नगरपालिका-७, तुरून्दीखोला नजिक भएको दुर्घटनामा बगनासकाली गाउँपालिका-९, चापपानीका ५१ वर्षीय विष्णुप्रसाद विक, लु ७७ प ४५०५ मोटरसाइकल चालक स्याङजा चापाकोट नगरपालिका-९, बस्ने विवेक भट्टराई, सोही मोटरसाइकलको पछाडि बसेका रूपन्देही तिलोत्तमा नगरपालिका-५, मणिग्रामका २८ वर्षीय दिपक पाण्डे घाइते भएको इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।