
सप्तरी । झाडापखालाबाट एकै परिवारका तीन जनाको मृत्यु भएको सप्तरीको छिन्नमस्ता–५ मा रहेको विपन्नहरूको बस्ती सदा टोलमा हैजा संक्रमण पुष्टि भएको छ । जनप्रतिनिधिसहित ८० जना बिरामी रहेकामा सिकिस्त ५ जनालाई अस्पताल भर्ना गरिएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमस्थित मुसहर बस्तीमा फैलिएको झाडापखाला हैजा भएको कीट प्रविधिबाट गरिएको परिक्षणले पुष्टि भएको हो । स्थानीय ९ जना प्रभावितहरुमा गरिएको आरडीटी अर्थात् र्यापिड डायग्नोस्टिक टेस्टले ४ जनामा हैजा पोजेटिभ देखिएको हो।
तर, थप क्लोरा पुष्टिकालागि जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा कल्चर परिक्षणको काम भने जारी छ । यता कीट टेस्टमा हैजा पोजेटिभ देखिएका ६५ वर्षिया अरहुलियादेवी सदा, ३ वर्षीय बालक मनीष सदा, ७ वर्षीय अमन सदा र ३० वर्षीया रेखादेवी सदाकाे सदरमुकाममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको छ ।
झाडापखाला प्रभावित लोखरम टोलमा हालसम्म २० घरका झण्डै ८० जना प्रभावित भएपनि १५ जनाको मात्रै स्टुल परिक्षणकोकाम थालिएको छ । उक्त मुसहर बस्तीमा ९० बिपन्न परिवारको बसोवास छ । यसअघि नै झाडापखालाको संक्रमणबाट स्थानीय बुचन सदाका अंदाजी ६६ वर्षिय बुबा लक्षमण सदा, एक वर्षका छोरा संजिव र चार वर्षकी छोरी राँगिनीको मृत्यु भइसकेको छ।
यता छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्ल चौधरीले प्रभावित क्षेत्रमा २४ओँ घण्टा स्वास्थ्यकर्मीहरुको टोली खटाएको र आवश्यक ब्यवस्थापन समेत भइरहेको जानकारी दिनुभयो।
पालिकाको समन्वयमा सेभ द सप्तरीले प्रभावितहरुलाई मास्क, हात धुने तथा नुहाउने साबुन गदा, कोदालो, बेल्चा तथा टोकरीसहितका सामग्री उपलब्ध गराएको छ भने खानेपानी फिल्टरसमेत उपलब्ध गराईने ब्यवस्थापन भइरहेको जनाएको छ ।