
दोलखा । रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ रि हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेका ४ जना घाईतेको उद्दार गरिएको छ ।
उनीहरूको आज बिहान यलुङ रि हिमालको बेसक्याम्पबाट उद्वार गरिएको दोलखाका प्रहरी प्रमुख ज्ञानकुमार महतोले बताउनुभयो । उद्दार गरिएका चार जनामध्ये दुई विदेशी र दुई नेपाली रहेका छन् । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
हिम पहिरामा परेका मृतक मध्ये फ्रान्सका आरोही क्यारल फुचसको नाम खुलेको छ । हिमपहिरो परेर चार जना घाईते भएकाछन् । घाईतेमध्ये निमाग्याल्जेन शेर्पाको परिचय खुलेको छ ।
मृत्यु हुनमा ५ जना विदेशी र २ जना नेपाली भनिए पनि पहिचान अझै खुल्न नसकेको दोलखाका प्रहरी प्रमुख ज्ञानकुमार महतोले बताउनुभयो । यलुङ रि हिमाल आरोहणमा विदेशीर नेपाली गरेर १२ जना गएको उहाँले बताउनुभयो ।
आज विहानैबाट एभरेष्ट हेलिकप्टरले खोजी तथा उद्वारका लागि यलुङ रि पुगेको थियो । ५ हजार ६ सय ३० मिटर अग्लो यलुङ रि आरोहण गरिरहेको अवस्थामा सोमबार बिहान ९ बजेतिर हिम पहिरो आएको थियो ।