आन्दोलनमा क्षतिग्रस्त भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारतस्थित नेपाली दूतावासको आह्वान

कार्तिक १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
आन्दोलनमा क्षतिग्रस्त भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारतस्थित नेपाली दूतावासको आह्वान

काठमाडौं । भारतकाे राजधानि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जेन-जी आन्दोलनमा क्षतिग्रस्त भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहतलगायतका कार्यको लागि आर्थिक सहयोग गर्न भारत प्रवासमा रहेका नेपाली र भारतीय नागरिकहरूलाई आह्वान गरेको छ ।

दिल्लीस्थित नेपाली राजदूतावासमा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न प्रवासी संगठनहरूमार्फत सम्पूर्ण नेपालीहरूलाई नेपाल सरकारले सुरू गरेको एकद्वार प्रणालीअन्तर्गत भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न भनिएको हो । कार्यक्रममा बोल्दै भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि यसरी आर्थिक संकलन गर्दा अनियमितता हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेकाले त्यसमा भारतबाट पनि अनलाइन पेमेन्ट गर्न सकिने सुविधा रहेको बताउनु भयो । 

राजदूत शर्माले नेपाल सरकारको स्पष्ट निर्देशन सुनाउँदै राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोषको खातामा कुनै पनि स्थानबाट सोझै सहयोग राशी पठाउन सकिने व्यवस्था गरेकाले कसैले पनि व्यक्ति विशेषबाट आर्थिक संकलन नगर्न र सबैलाई कोषको बैंक खातामा सोझै सहयोग रकम पठाउन सुझाव दिनुभयो । उहाँले भौतिक संरचनाको पुनर्निर्माणका साथै शहीद परिवार र घाइते परिवारलाई पनि यही कोषमार्फत राहत दिइने भएकाले एकद्वार प्रणालीबाट जानुपर्ने बताउनु भयो ।

भारतका युपीआईमार्फत यस पुनर्निर्माण कोषको बैंक क्युआर कोडमा सोझै पैसा पठाउन सकिने पनि कार्यक्रममा बताइएको थियो । नेपाल सरकारले प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सङ्घ-संस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन आह्वान गरेको छ । 

भारतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले नेपाल सरकारले आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन-खर्च कट्टी गर्न पाइने उल्लेख गरे पनि भारतबाट ठूलो रकम सहयोग गर्ने दाताहरूलाई करमा छुट दिलाउनुपर्ने र त्यसका लागि नेपाली दूतावासले भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.