सुर्खेतको गुर्भाकोट नगरपालिका जोड्ने गोचेखोलाको पुल ८ वर्षदेखि अलपत्र, हटेन स्थानीयको सास्ती

आश्विन २५, २०८२ |कमल पन्त|देव राना
सुर्खेतको गुर्भाकोट नगरपालिका जोड्ने गोचेखोलाको पुल ८ वर्षदेखि अलपत्र, हटेन स्थानीयको सास्ती

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकाको वडा नं. ४ र ५ लाई जोड्ने गोचेखोलाको पुल ८ वर्षदेखि अलपत्र परको छ । 

दुई वर्षभित्र निर्माण सक्ने जिम्मा पाए पनि व्यवसायीको चरम लापरवाहीका कारण अलपत्र परेको हो । पुल नबन्दा ५ नम्बर वडा पालिकासँग जोडिन सकेको छैन भने स्थानीयले पनि सास्ती भोग्नुपरेको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिकाको वडा नं. ४ र ५ मा पर्ने गोचेखोलामा पुल बनाउन सुरु गरेको ८ वर्ष भयो । तर अझै पुल बन्न सकेको छैन । गोचेखोलामा पुल नबन्दा सडक मार्गबाट ५ नम्बर वडा पालिकासाग जोडिन सकेको छैन भने पुल नभएकै कारण स्थानीयले अनेक सास्ती भोग्दै आएका छन् ।

बोकेको एड्भेन्चर जेभीले २०७६ बैशाखभित्र सम्पन्न गर्ने गरी २०७४ भदौं २२ गते पुल निर्माणको ठेक्का लिएको थियो । तर दुई वर्षमा काम सक्नेगरी ठेक्का लिएको निर्माण व्यवसायीले ८ वर्षसम्म ५१ प्रतिशत मात्रै काम गरेको छ । पुल निर्माणका लागि बारम्बार ताकेता गर्दा पनि निर्माण व्यवासायीले अटेरी गर्दै आएको जनप्रतिनिधिले गुनासो गरेका छन् ।

जतिसक्यो छिटो पुल निर्माण सम्पन्न गर्न भन्दै सडक डिभिजन कार्यालय सुर्खेतले अहिलेसम्म ६ पटक म्याद थप गरिसकेको छ । तर पछिल्लो दुई वर्षदेखि पुल निर्माणको कुनै काम नै गरेको छैन । पटक-पटक म्याद थप गर्दा पुल नबनेपछि सडक डिभिजन कार्यालयले ठेक्का तोड्ने तयारी गरेको छ ।

कुल ४ करोड ८७ लाखमा पुल बनाउने जिम्मा पाएको निर्माण व्यवसायीले हालसम्म २ करोड ७९ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । 


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।

Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।