बीपी राजमार्गको काभ्रे खण्ड अस्थायी रूपमा सञ्चालनमा

आश्विन २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
बीपी राजमार्गको काभ्रे खण्ड अस्थायी रूपमा सञ्चालनमा

काभ्रे । अविरल वर्षापछि अवरूद्ध भएको बीपी राजमार्गको काभ्रे खण्ड अस्थायी रूपमा सञ्चालनमा आएको छ । 

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार, राजमार्गमा अस्थायी ट्र्याक निर्माण पूरा भएसँगै शनिबारदेखि सवारीसाधनको आवागमन सुरू भएको हो । सडक डिभिजन कार्यालयका अनुसार २५ देखि ३० स्काईभेटर र अन्य भारी उपकरण प्रयोग गरी विभिन्न स्थानमा कटान र बाढीले बगाएको भागमा निरन्तर काम गरिएको थियो । 

हाल थानसिङ-बेसी, रोशी खोला किनारा र रानीपौवा खण्डमा अस्थायी ट्र्याक बनेपछि सवारी चलाउन सकिने अवस्थामा पुगेको हो । सडक डिभिजनका तथ्यांकअनुसार २०८१ असोज दोस्रो साताको रोशी खोलाको बाढीले करिब ८ किमि सडक बगाएको थियो भने गत असोज १७ र १८ गतेको अविरल वर्षाले थप १४ ठाउँमा करिब ५ किमि सडक बगाएको थियो ।

यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार बीपी राजमार्ग दुबैतर्फी सवारीसाधनका लागि खुलेको र हाल सामान्य रूपमा आवागमन भैरहेको छ । तर कार्यालयले यात्रा गर्दा विशेष सावधानी अपनाउन चालक र यात्रु दुवैलाई अनुरोध गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.