काठमाडौं । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न बनेको उच्च्स्तरीय न्यायिक आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी पुनः प्रहरीलाई नै फिर्ता पठाएको छ ।
जेन-जी आन्दोलनका मृतक परिवारले ओली र लेखकविरुद्ध मंगलबार दिएको जाहेरी जिल्ला प्रहरी परिसरले आयोगमा पठाएकोमा आयोगले आज पुनः प्रहरीलाई नै फिर्ता गरेको हो । आयोगले आज विज्ञप्ति जारी गर्दै फौजदारी घटनामा विस्तृत अनुसन्धान गरी कसूरदार देखिने अवस्थामा अभियोजनसमेत लगाउने कार्य आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै उक्त जाहेरी निवेदन प्रहरीमा फिर्ता पठाइएको जनाएको हो ।
फौजदारी कसूरमा राज्यको संयन्त्रले तत्काल अनुसन्धान र कारबाही गर्ने कानुनी व्यवस्था रहेको समेत आयोगले स्मरण गराएको छ ।
आन्दोलनका मृतक रसिक खतिवडाका बुबा पुरुषोत्तम खतिवडासहित ४ जनाले मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।