पर्सा । वीरगञ्जको भानु चोकस्थित शाह प्याराडाइस होटेलको पहिलो तलमा रहेको कोठा नम्बर १११ मा दुई भारतीय नागरिकको शव फेला परेको छ ।
मृतकहरू भारतको त्रिपुरा राज्यका स्थायी बासिन्दा ६७ वर्षीय सजल आचारजी र २४ वर्षीय सागर आचारजी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । मृतकहरू बुवा र छोरा रहेको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार सजल र सागरले असोज १९ गते बिहान ४ बजे उक्त होटेलमा कोठा लिएका थिए । मङ्गलवार साँझसम्म कोठाको ढोका नखुलेपछि र होटेल कर्मचारीको बारम्बार सम्पर्क प्रयास असफल भएपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले कोठाको छेउमा रहेको अर्को कोठाको भेन्टिलेटर च्यातेर अवलोकन गर्दा छोरा सागर पङ्खामा झुन्डिएको अवस्थामा र बुवा सजल बेडमा पल्टिएको अवस्थामा देखिएको डिएसपी लम्सालले बताउनभुयो ।
होटेल स्रोतका अनुसार मृतकहरूले सोमबार दिउँसोसम्म नियमित रूपमा रुम सर्भिस र खाना मगाएर खाएका थिए । तर, सोमबार साँझ खानाको लागि सम्पर्क गर्दा उनीहरूको फोन नउठेपछि होटेल कर्मचारीलाई शङ्का लागेको थियो । मङ्गलवार बिहान कोठा सरसफाइका लागि कर्मचारी पठाउँदा समेत ढोका नखुलेपछि होटेल सञ्चालकको आशङ्का थप बलियो बनेको थियो । मङ्गलवार साँझसम्म पनि कोठाबाट कुनै प्रतिक्रिया नआएपछि सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले हालसम्म कोठाको ढोका खोलेको छैन । डिएसपी लम्सालका अनुसार भारतीय महावाणिज्य दूतावासका प्रतिनिधिहरूको उपस्थितिमा मात्र ढोका खोल्ने प्रक्रिया अघि बढाइने छ । प्रारम्भिक अवलोकनमा आत्महत्याको सम्भावना देखिए पनि ढोका नखोलेसम्म मृत्युको यकिन कारण पत्ता लगाउन नसकिने उहाँले बताउनुभयो ।