धनकुटा । मनसुनजन्य विपद् जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले सतर्कता सूचना जारी गरेको छ।
वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक अवरुद्ध हुने सम्भावना भएकाले सर्वसाधारण, यात्रु तथा सवारी साधन चालकहरूलाई अत्यावश्यक नपरी यात्रा नगर्न अनुरोध गरिएको छ।
साथै विद्यालय, स्थानीय तह, सुरक्षा निकाय र विपद् व्यवस्थापन समितिहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ। धनकुटा प्रशासनले जारी गरेको सूचनामा जिल्लाका सबै सुरक्षा निकायहरूलाई समन्वयात्मक रूपमा तयारी अवस्थामा रहन, संवेदनशील स्थानहरूमा पूर्वसावधानी अपनाउन र सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सार्न तयारी गर्न निर्देशन दिएको छ।
विशेष गरी भेडेटार–रवि–रोके सडक, तमोर कोरिडोर लगायतका स्थानमा पहिरो र सडक अवरोध हुने सम्भावना भएकाले सवारी साधन सञ्चालनमा सचेतता अपनाउन आग्रह गरिएको छ।
आवश्यक परे रात्रीकालीन सवारी साधन सञ्चालन रोक्ने व्यवस्था गर्न पनि प्रहरीलाई जिम्मेवारी दिइएको छ। प्रशासनले स्थानीय बासिन्दालाई नदी किनार, खोल्सो नजिक र पहिरो सम्भावित स्थानमा नबस्न, तथा आपतकालीन अवस्थामा जिल्ला आपतकालीन सञ्चालन केन्द्र वा प्रहरी, सेना, रेडक्रस र स्थानीय निकायसँग सम्पर्क गर्न अनुरोध गरेको छ।
आपतकालीन अवस्थामा सम्पर्कका लागि उल्लेखित नम्बरमा सम्पर्क गर्न भनिएको छ ।
जिल्ला आपतकालीन संचालन केन्द्र: ०२६५२३६३१
नेपाली सेना:०२६५२३४०३
नेपाल प्रहरी: १०० (९८५२०९०१६७)
शसस्त्र प्रहरी:१११४(९८५१२७२२४६)
रास्टीय अनुसन्धान: ०२६५२२०४२