
बागमती । बाढीपहिरोको जोखिम बढेकाले हेटौँडा-काठमाडौं जोड्ने सडकमा सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयअनुसार हेटौँडा-काठमाडौं जोड्ने मुख्य सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ, हेटौँडा-भैँसे-फाखेल सडक र हेटौँडा-चित्लाङ-काठमाडौं सडकमा सवारीसाधनलाई शनिबार बिहानैदेखि सञ्चालन गर्न दिएको छैन । हेटौँडा हुँदै काठमाडौंका निम्ति छुटेका सबै सवारीसाधनलाई प्रहरीले हेटौँडाको चौकीटोल, भैँसे, पिप्लेमा रोकेको छ । सवारीसाधन सञ्चालन नहुँदा यात्रीहरू अलपत्र परेका छन् ।
हेटौँडा-काठमाडौं जोड्ने कुनै पनि सडक हालसम्म बाढी वा पहिरोका कारण अवरूद्ध नभए पनि वर्षा निरन्तर भइरहेकाले जोखिमबाट जोगिन ती सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रवाक्ता बोगटीले बताउनुभयो ।
यसैबीच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आजदेखि असोज २० गतेसम्म अत्यन्त टाढा र राति यात्रा नगर्न आग्रह गर्नुभएको छ । उहाँले सबै जिल्लाबासीलाई सचेत रहन आग्रह गर्नुभएको छ ।-रासस