काठमाडौं । देशभर दशैंको रमझम चलिरहेका बेला मिथिलाञ्चलमा झिझिया लोक नृत्यको छुट्टै रौनक छ।
लोकनाच, सांस्कृतिक झाँकी र धार्मिक अनुष्ठानले मिथिला क्षेत्रमा दशैंलाई अझ बढी मनमोहक बनाएको छ । मिथिलाको मौलिक लोकनाच झिझियालाई ग्रामीण भेगका महिलाहरूले अझैसम्म जीवन्त राखेका छन् । मिथिलाञ्चल क्षेत्रमा गरिने लोक नृत्यहरू मध्ये झिझिया विशिष्ट प्रकृतिको नृत्य हो ।
जुन दशैंको समयमा गर्ने गरिन्छ । पूर्णतान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व छ । लोकनाच झिझियाको रमझमले मिथिला नगरीमा दशैंको रौनक छाएको छ । सुरिलो गीतको भाकामा नाचिने यो नृत्यको तालमा नझुम्ने कोही हुँदैन ।
झिझिया नृत्यको आफ्नै मौलिकता, पहिचान र इतिहास छ । घैाटोमाथि बल्दै गरेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैंमा साहस र कलाको अलौकिक प्रदर्शन हो । वर्षा ऋतुको बिदाइ र शरद् ऋतुको आगमनसँगै नवरात्री भरि गीत र नृत्यको तालमा गाइने झिझियामा प्रयोग हुने घैंटोमा असंख्य प्वाल पारि त्यस भित्र दियो बालेर टाउकामा राखी महिलाहरू रातिको समयमा नाच्ने गर्दछन् ।
समाज रूपान्तरण हुँदै गएपछि लोक नृत्यहरू लोप हुँदै गइरहेको बेला यसलाई जीवन्त राख्न वर्षेनि झिझिया नृत्यको आयोजना गरिँदै आएको छ । एक दशक यता झिझिया नृत्य सभा सम्मेलनमा सीमित बन्दै गएको थियो । युवाक्लबले सकृयता देखाएसँगै झिझिया नृत्यले फेरि जिवन्त बन्न थालेको छ ।
झिझिया नृत्यलाई मौलिक गीतमा दुर्गा भगवती तथा नगर देवताको प्रार्थना, जादु टुनामुना गर्नेहरू प्रति व्यङ्ग्यको रूपमा लिइन्छ भने यो नृत्यमा आफ्ना सन्तानको दीर्घायुको कामना समेत गर्ने गरिन्छ । परिवार र समाजको सहयोग बिना चेतना रूपी दियोको विकास हुन नसक्ने सन्देश समेत यो झिझिया नृत्यले दिएको छ ।