इनिसा विकको हत्याका दोषीलाई कारबाही गर्न माग गर्दै विभिन्न स्थानमा विरोध प्रदर्शन

फाल्गुन २८, २०८२ |कमल पन्त
इनिसा विकको हत्याका दोषीलाई कारबाही गर्न माग गर्दै विभिन्न स्थानमा विरोध प्रदर्शन

सुर्खेत । सुर्खेतकी १६ वर्षीया किशोरी इनिसा विकको हत्याका दोषीलाई कारबाही गर्न माग गर्दै सुर्खेतलगायत देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएका छन् । दोषीलाई कानुनी कारबाहीको माग गर्दै अधिकारकर्मीले सरकारलाई दबाब दिन देशका विभिन्न स्थानमा प्रदर्शन गरेका हुन् ।

सुर्खेतको वीरेन्द्रनगरमा करिब एक साताअघि बलात्कारपछि हत्या गरिएकी इनिसा विकलाई न्याय दिन र अपराधमा संलग्नहरूमाथि कारबाही गर्न अधिकारकर्मी तथा आफन्तले दबाब दिएका छन् ।

घटनाको प्रभावकारी रूपमा छानबिन गरी दोषी पत्ता लगाउने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन देशभर विरोध प्रदर्शन भएका छन् । सो घटनामा घटनामा संलग्न भएको भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरीले थालेको अनुसन्धानका केही रिपोर्ट आउन बाँकी छ भने पोस्टमोर्टम रिपोर्ट आइसकेको छ । प्रदेश अस्पताल सुर्खेत र भेरी अस्पताल बाँकेका चिकित्सकको टोलीले पोस्टमोर्टम गरेको छ । 

पीडितलाई न्याय दिन अनसन्धान प्रभावकारी बनाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले अनुसन्धानमा सहयोग गर्ने भएको छ । घटनाको थप अनुसन्धानका लागि सीआईबीको टोली सुर्खेत आउने तयारी गरेको छ । त्यसैगरी घटनामा संलग्न भएकाहरूका तथ्य र प्रमाण प्रभावकारी रूपमा संकलन गर्न प्रहरीले पोलीग्राफ टेस्ट गर्ने जनशक्ति नेपालगन्जबाट सुर्खेत पुगिसकेको प्रहरीले जनाएको छ ।

इनिसाको यौनांगमा चोट लागेकाले अत्यधिक रक्तश्राव भएर मृत्यु भएको, भित्री अंगमा गहिरो घाउको दाग भएको पोस्टमोर्टम रिपोर्टमा देखिएको प्रहरीले जनाएको छ । ६ दिनदेखि इनिसाको शव प्रदेश अस्पतालमा रहेको छ । वैदिशिक रोजगारीका लागि विदेश रहेका इनिसाका बुबा इन्द्र विक बिहीबार सुर्खेत आइपुग्नुभएको छ । उहाँले छोरीको बलात्कारपछि हत्या भएकाले न्याय नपाएसम्म शव जिम्मा नलिने बताउनुभयो ।

पक्राउ परेका चार जनामध्ये एक युवकले आफूले सहमतिमै शारीरिक सम्पर्क गर्दा बेहोस भएको प्रहरीसमक्ष बयान दिएका छन् । उनले यसअघि पनि इनिसासँग नियमित सम्बन्ध रहेको र घटनामा अन्य तीन जनाको संलग्नता नभएको जिकिर गरेका छन् । तर अधिकारकर्मीहरूले भने अभियुक्तका बयानका आधारमा घटना कमजोर बनाएर दोषीलाई उन्मुक्ति दिन खोजेको हो कि भन्दै आशंका गरेका छन् । उनीहरूले पीडितलाई न्याय दिन र दोषीलाई कारबाही गर्न दबाब पनि दिएका छन् ।

पछिल्लो दुई वर्षमा कर्णालीमा ५ सय ६४ वटा बलात्कारका घटना दर्ता भएका छन् भने १ सय २४ वटा बलात्कारको प्रयास गरेका घटना दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । कर्णाली प्रदेशमा हरेक वर्ष बलात्कारका घटना बढ्दै गएका छन् । उपलब्ध कानुनको प्रभावकारी कार्यान्वयन नहुनु र दोषलाई उचित कारवाही नहुादा देशरभर महिला तथा बालिकाहरू असुरक्षित बन्दै गएका छन् ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।