काभ्रेपलाञ्चोक । वर्षाका कारण बाढी, पहिरो र सडक अवरूद्ध हुने उच्च सम्भावना भएकाले काभ्रेपलाञ्चोक जिल्लाभित्र पर्ने बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको छ ।
असोज १५ गतेदेखि २१ गतेसम्म हरेक दिन बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । जिल्ला प्रशासनले भक्तपुर-बनेपा-धुलिखेल-सिन्धुली खण्ड हुँदै जाने सबै प्रकारका सवारी साधन सञ्चालन नगर्न भनेको छ ।
उच्च सतर्कता र पूर्वतयारी अपनाउनका लागि गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचना अनुसार यो निर्णय गरिएको हो । प्रशासनले अनावश्यक यात्रा नगर्न, जोखिमयुक्त स्थानमा नजान र स्थानीय प्रशासन तथा सुरक्षाकर्मीको निर्देशनलाई कडाईका साथ पालना गर्न आग्रह गरेको छ ।
आकस्मिक अवस्थाको उद्धार तथा राहतका लागि सुरक्षाकर्मी, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला सबै निकाय तयारी अवस्थामा रहने प्रशासनले जनाएको छ ।