काठमाडौं । भदौ २३ र २४ को जेन-जी आन्दोलनका नेताहरूले अक्टोबर ९ का दिन प्रदर्शनको कुनै कार्यक्रम नभएको स्पष्ट पारेका छन् ।
अक्टोबर ९ अर्थात् असोज २३ गते जेन-जीहरूले अर्को प्रदर्शनको तयारी गरिरहेको भन्दै सामाजिक सञ्जालहरूमा प्रचार भएपछि उनीहरूले त्यसको खण्डन गर्दै प्रदर्शनको कुनै कार्यक्रम नभएको स्पष्ट पारेका हुन् ।
जेन-जी नेताहरू मिराज ढुंगाना तथा प्रवेश दाहाललगायतले सामाजिक सञ्जालमार्फत- एजेन्डाविना कुनै प्रदर्शन नगर्ने र अहिले कायम भएको शान्ति खल्बल्याउने पक्षमा आफूहरू नरहेको बताएका हुन् । यसैगरी जेन-जी नेताहरु रक्षा बम, तनुजा पाण्डेलगायतले पनि सामाजिक सञ्जालमार्फत अराजकता फैलाउने, शान्ति भड्काउने र डरत्रास फैलाउने कार्य गम्भीर र निन्दनीय रहेको उल्लेख गरेका छन् ।
जेन-जी पुस्ता कुनै व्यक्ति वा समूहविशेष विरूद्ध आन्दोलनमा नउत्रिने उनीहरूले बताएका छन्।