काठमाडौं । जेन-जी विद्रोहले राजनीतिक दलहरूको सत्ता मात्र ढलेको छैन अहिले विवाद पनि चुलिएको छ ।
दलहरूमाथि नेतृत्व परिवर्तन गर्न चौतर्फी दबाब छ । नेतृत्वको अक्षमताकै कारण आफूहरूसमेत संकटमा पर्न लागेको भन्दै राजनीतिक दलभित्रका जेन-जी पुस्ता अब चुप लागेर नबस्ने भन्दै विद्रोहको चेतावनी दिन थालेका छन् । तर, नेतृत्वले सुनेको नसुनै गरेको छ ।
भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नुपर्ने माग जेन-जी युवाले गरेको गत भदौ २३ र २४ गतेको विद्रोहले राजनीतिक दलको सत्ता ढल्दा पनि नेतृत्व अझै चेतेको छैन । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र मात्र होइन, रास्वपा, राप्रपा, जसपा, जसपा नेपाल, लोसपालगायतका दलमा कार्यशैली र व्यवहार बदल्ने त परको कुरा, ती दलका शीर्ष नेताहरू अझै नेतृत्वमा पुस्तान्तरणको मनस्थितिमा नदेखिएपछि पार्टीभित्रको जेन-जी पुस्ता विद्रोहसम्मको तयारीमा पुगेका छन् ।
नेपाली कांग्रेसमा सक्रिय जेन-जी पुस्ताका नेताहरू अहिलेको नेतृत्वले नछाड्ने हो भने दशैंलगत्तै विद्रोह गर्दै तयारी गरेको बताउँछन्। नेकपा माओवादीका युवा नेताहरू आफूहरूले विगतदेखि उठाउँदै आएका आवाज नेतृत्वले नसुन्दा अहिले पार्टी राजनीति नै संकटमा परेको बताउँछन् ।
युवाको भावनाअनुसार तत्काल नेतृत्व पुस्तान्तरण नभए पार्टीले थप संकटको सामना गर्नुपर्ने उनीहरूको चेतावनी छ । नेकपा एमालेका युवा नेताहरू पार्टीमा पुस्तान्तरण नभए आफूहरू अलग हुन बाध्य हुने चेतावनी दिएका छन् ।
शीर्ष नेताहरूले भने जिम्मेवारी हस्तान्तरण वा पुस्तान्तरणको बहस गर्नै चाहेका छैनन् । बरू युवाको आक्रोस मत्थर भएपछि अर्को चलखेल गर्ने र राजनीतिमा पुनर्स्थापना हुने प्रयासमा छन् । त्यति हुँदा पनि दोस्रो र तेस्रो पुस्ताका अधिकांश नेताहरूले खुलेर पार्टीमा पूनर्गठन हुनुपर्ने आवाज मुखर गर्न सकेका छैनन् । न उनीहरू नेतृत्वको दाबी गर्न सकिरहेका छन्, न त विकल्प नै सुझाउन सकेका छन्।
कांग्रेसमा गगन थापा, एमालेमा योगेश भट्टराई र माओवादीमा जनार्दन शर्मालगायतका केही नेताले झिनो आवाज उठाए पनि नेतृत्व परिवर्तनको मुद्दा संस्थागत भइसकेको छैन। अहिले पनि दलका शीर्ष नेताहरूले भदौ २३ र २४ को जेन-जी विद्रोहलाई आफूहरूविरूद्धको आक्रोसका रूपमा स्वीकार गरेका छैनन् ।
आफ्ना गल्ती स्वीकार गरी आत्मालोचना गर्नु त कता हो कता बरू त्यो विद्रोहको अबमूल्यन गरिरहेका छन् । यसले राजनीतिक नेतृत्व तत्काल सुधारिनुको सट्टा आफ्नै पार्टीभित्र विद्रोह निम्त्याइरहेको देखिन्छ ।