सुर्खेतको वीरेन्द्रनगरमा भेरी पम्पिङ खानेपानी आयोजना निर्माणमा विवाद

तोकिएको अवधिमा आयोजना सम्पन्न नहुने
आश्विन ८, २०८२ |कमल पन्त|देव राना
सुर्खेतको वीरेन्द्रनगरमा भेरी पम्पिङ खानेपानी आयोजना निर्माणमा विवाद

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरवासीको बहुप्रतीक्षित भेरी पम्पिङ खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको छ । 

मेलम्चीपछि देशकै दोस्रो ठूलो दाबी गरिएको आयोजना निर्माणका लागि जग्गा र रूख काट्ने अनुमति प्राप्तिमा भएको ढिलासुस्ती र पाइपलाइन विस्तारमा स्थानीयको अवरोधका कारण तोकिएको अवधिभित्र आयोजना सम्पन्न नहुने निश्चित छ ।

दुई वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने भेरी पम्पिङ आयोजनाको काम अहिलेसम्म आधा सकिनुपथ्र्याे । तर सम्झौता अवधि सकिन वर्षदिन बाँकी रहँदा बल्ल पाइपलाइन विस्तार र सहायक ट्याङ्की निर्माण भइरहेको छ । 

आयोजनाको मुख्य काम भेरीमा पानीको बहाव डाइभर्ट गरी नदीको सतहदेखि ७ किलोमिटर ? गहिराइमा दुई वटा इन्टेक र मुख्य रिजर्भ ट्याङ्कीको काम सुरूआत नै हुनसकेको छैन । त्यसैले तोकिएको समयभित्र आयोजना सम्पन्न नहुने निश्चित छ ।

आयोजना बनाउँदा तीन वटा सामुदायिक वनका एक हजार ४ सय ९९ वटा रूख काट्नुपर्नेछ तर ढिलासुस्ती भइरहेको छ । जसका कारण आयोजनाको मुख्य क्षेत्रमा पाइपलाइन विस्तार, पानी प्रशोधनका लागि इन्टेक निर्माण र मुख्य रिजर्भ ट्याङ्की बनाउन काम अगाडि बढेको छैन । 

मुख्य क्षेत्रमा काम गर्न नपाएको निर्माण व्यवसायीले हाल धारापानी, खोर्केखोला र कालीमा मन्दिर क्षेत्रमा सहायक ट्याङ्की निर्माण र इत्राम, पिपिरा, धुलियाबिट र बाङ्गेसिमल क्षेत्रमा पाइलपाइन विस्तार गरिरहेको छ ।

अहिलेसम्म जम्मा साढे ८ किलोमिटरमात्र पाइपलाइन विस्तार भएको छ । आयोजनाले अझै साढे २६ किलोमिटरमा पाइपलाइन विस्तार गर्न बाँकी छ । बाङ्गेसिमलमा पक्की सडक नभत्काएर पाइपलाइन विस्तार गर्नुपर्ने भन्दै अवरोध भएको थियो । अवरोध हटाउन वीरेन्द्रनगर नगरपालिकाले समन्वय गरिरहेको छ ।

बढ्दो जनसंख्याका कारण खानेपानीको संकट बढ्न थालेपछि भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउन आयोजना अघि सारिएको हो । स्थानीयले जतिसक्यो छिटो आयोजना सम्पन्न गर्नुपर्ने बताउँछन् ।

साढे चार अर्ब लागत अनुमान गरिएको आयोजना चिनियाा निर्माण कम्पनीले साढे तीन अर्बमा ठेक्का लिएको छ । ७० प्रतिशत विश्व बैङ्कको ऋण र बाँकी ३० प्रतिशत संघ, प्रदेश र स्थानीय सरकारले लागत साझेदारी गर्ने सम्झौता छ । 

भेरीबाट प्रतिसेकेण्ड ५ सय ४० लिटर पानी पम्पिङ गरी वीरेन्द्रनगर-११ को अमृतडाँडा ल्याउने र त्यहाा तीन हजार घटमिटर क्षमताका ३ ट्याङ्कीबाट वीरेन्द्रनगरमा खानेपानी वितरण गर्ने लक्ष्य छ । आयोजना सम्पन्न भएमा २५ वर्षसम्म वीरेन्द्रनगरको खानेपानी संकट टार्ने प्रक्षेपण छ ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।

Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।