तोडफोड र आगजनीले अदालतहरूका मिसिल नष्ट

आश्विन ६, २०८२ |किरण पौडेल
तोडफोड र आगजनीले अदालतहरूका मिसिल नष्ट

काठमाडौं । जेन-जी युवाले गरेको विद्रोहपछि गत भदौ २४ गते सर्वोच्च अदालतसहित देशका विभिन्न अदालतमा तोडफोड र आगजनी हुँदा मुद्दाका धेरै मिसिल नष्ट भएका छन् । 

नागरिकलाई न्याय दिने थलो अदालतमै आगजनी हुँदा वर्षौं पुराना अभिलेखसमेत नष्ट भएका छन् । अहिलेसम्म अदालतमा भएको क्षतिको पूर्ण तथ्यांक आइसकेको छैन । तर ऐतिहासिक अभिलेखहरू नष्ट हुँदा न्याय सम्पादनमा समस्या हुने देखिएको छ ।

जेन-जी युवाले गरेको विद्रोह सफल भइसकेपछि भदौ २४ गते देशका धेरै अदालतमा तोडफोड र आगजनी भएको थियो । सर्वोच्च अदालतसँगै १५ जिल्ला अदालत र ८ उच्च अदालतमा क्षति भयो । 

सबैभन्दा पुराना मिसिल रहेको काठमाडौं जिल्ला अदालत पनि आक्रमणकारीको निशानामा पर्‍यो । काठमाडौं जिल्ला अदालतमा राणाकालदेखिका ५ लाख मिसिल थिए । २०३० सालभन्दा अघिका सबै मिसिल ध्वस्त भएका छन् । यो अदालतमा २६ हजारभन्दा धेरै मुद्दा थिए । अहिले अदालतका मिसिलमा भएको क्षति संकलनको काम जारी छ ।

सर्वोच्च अदालतमा मात्र २४ हजार ३ सय मिसिल चालु अवस्थामा छन्। तीमध्ये ४ हजार २ सय मात्र बचेका छन् । २००९ देखि २०७२ सालसम्मका फैसला भएर बसेका ऐतेहासिक मिसिलहरू पूर्णरूपमा नष्ट भएका छन् । 

कतिपय अदालतमा त कम्युटरदेखि हार्डडिस्कससम्म चोरी त तोडफोड भएका छन् । हाल मुद्दाको लगत संकलन र मुचुल्का उठाउने काम भइरहेको छ । सर्वोच्च अदालतले अत्यावश्यक मुद्दा अहिले पाल राखेर सुनुवाइ सुरू गरेको छ । 

सर्वोच्चबाहेक क्षति भएका उच्च र जिल्ला अदालतहरूमा पनि मिसिल र तथ्यांक संकलन गर्ने काम जारी छ । ध्वस्त भएका मिसिल खडा गर्ने निर्णय फूलकोर्टले गरिसकेको छ । अब मिसिल खडा गर्न निर्देशिका बनाइने छ । 

सरकारी वकिल कार्यलय र नेपाल बारसँगको सहकार्यमा अदालतलाई फेरि पुरानै लयमा फर्काउने प्रयास जारी छ । तर पुरानै गतिमा अदालतलाई फर्काउन भने निकै कठिन हुने देखिन्छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।