पुनर्निर्माणमा स्वदेशी काठ उपयोग गर्न फेकोफनको सुझाव

आश्विन ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
पुनर्निर्माणमा स्वदेशी काठ उपयोग गर्न फेकोफनको सुझाव

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ-फेकोफनले मुलुकको पुनर्निर्माणमा स्वदेशी काठ उपयोग गर्ने नीति ल्याउन सरकारलाई सुझाव दिएको छ ।

महासंघ संघीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्न साेमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुर भण्डारीले जेन-जी आन्दोलनपछि विकसित घटनाक्रममा भएको क्षतिको पुनर्निर्माणका लागि नेपाली काठ प्रयोग गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले किसानलाई उठिबास लगाउने बाँदर र बँदेल मार्न तथा बेच्ने गरी सरकारले स्पष्ट कानुन बनाउनुपर्नेमा पनि जोड दिनुभयो । महासचिव पार्वता गौतमले महासंघले युवा पुस्तालाई नेतृत्वमा ल्याउन र वनमा उद्यमशीलता विकासका लागि फेकोफनले अभियान नै चलाएको जानकारी दिनुभयो ।

महासचिव पार्वता गौतमले महासंघले संरचनागत रूपमै युवा र नयाँ पुस्तालाई समेटेको बताउँदै युवाहरूलाई आगामी दिनमा सामुदायिक वनमा युवा सहभागिता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

महासंघले तेहेरो करको अन्त्य गर्न र सामुदायिक वन गाभ्ने नीति अघि नबढाउन पनि माग गरेको छ । अध्यक्ष भण्डारीले स्थानीय तहदेखि प्रदेश र संघीय सरकारले सामुदायिक वनबाटै सरकारको खर्च चलाउने गलत सोच राख्दा समस्या बढेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.