काठमाडौं । फिलिपिन्समा भ्रष्टाचारविरूद्ध भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
त्यसक्रममा २ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । सांसद, सरकारी अधिकारी र व्यवसायीहरू संलग्न भएको भनिएको बाढी नियन्त्रण परियोजनामा घुस प्रकरणले आक्रोश बढेपछि मास्क लगाएका हजारौँ प्रदर्शनकारी राजधानी मनिलाका सडकमा उत्रिएका हुन् ।
झडपका क्रममा १ सय ३१ प्रहरीहरू घाइते भएका छन् । जसमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् । सञ्चारमाध्यममा धनाढ्य दम्पत्ति सारा र प्यासिफो डिस्कायाले आफ्ना दर्जनौँ लक्जरी कार र एसयुभी प्रदर्शन गरेपछि जनआक्रोश चर्किएको थियो ।
उनीहरूले चार करोड २० लाख पेसो अर्थात् सात लाख ३७ हजार डलर बराबरको ब्रिटिस लक्जरी कार किन्दा निःशुल्क उपहारहरू पाएको भन्दै देखाएका थिए । यस्तै पेरूमा पनि जेन-जी समूहले सरकारविरोधी प्रदर्शन गरेको छ ।
राष्ट्रपति दिना बोलुआर्टेको प्रशासनविरूद्ध भएको प्रदर्शनमा झडप हुँदा प्रहरी र पत्रकारसहित १८ जना घाइते भएका छन् । यसै साता संसद्ले युवाहरूलाई पनि निजी पेन्सन कोषमा सामेल हुनुपर्ने कानुन पारित गरेपछि जेन-जी युवाहरू प्रदर्शनमा उत्रिएका हुन् ।
शनिबार पनि राष्ट्रपति र संसद् भवननजिक हिंसात्मक झडप भएका थिए । यसैगरी बजेट कटौतिविरूद्ध गत साता फ्रान्समा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका थिए भने सेप्टेम्बरको पहिलो साता इन्डाेनेसियामा पनि जेन-जी युवाहरूले भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका थिए ।