काठमाडौं । नेपाली पुरूष सिनियर क्रिकेट टिम साेमबार साँझ यूएई प्रस्थान गरेको छ ।
वेस्ट इन्डिजसँग युनिटी कप टी-२० क्रिकेट खेल्नका लागि नेपाली टोली यूएई गएको हो । यसअघि गत शुक्रबार यूएई जाने तालिका भए पनि नेपाली टिमले भीसा नपाएपछि यात्रामा ढिलाइ भएको हो ।
यूएईले भीसामा लगाएको प्रतिबन्धको कारण नेपाली टिमको यात्रा चार दिन ढिलो भएको हो। नेपालले इतिहासमा नै पहिलो पटक टेस्ट राष्ट्रसँग सिरिज खेल्न लागेको हो।
वेस्ट इन्डिजको सिरिजपछि नेपाली टिम त्यहाँबाट सिधैं ओमान जाने छ ।ओमानमा अक्टोबर ८ देखि १७ तारिखसम्म आईसीसी टी-२० विश्वकप एसिया र पूर्वी एसियाको छनोट खेल हुँदैछ।
त्यही छनोटका लागि नेपालले वेस्ट इन्डिजसँग तयारी सिरिज खेल्न लागेको हो। नेपाल लगातार दोस्रो पटक विश्वकप खेल्ने योजनामा छ। नेपाल विश्वकप छनोटको समूह 'बी'मा जापान र कुवेतसँग छ।
यसैगरी नेपाल क्रिकेट संघ क्यानले साेमबार राति क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गर्ने जानकारी दिएको छ।