काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आफू मातहतका विभाग, कार्यालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले घुस मागेमा सिधैं आफूलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।
यसका लागि उहाँले आफूसँग गुनासो राख्नका लागि इमेल सार्वजनिक गर्नुभएको छ । गुनासो व्यवस्थापनका लागि टोल-फ्री नम्बरसमेत सञ्चालनमा ल्याइएको छ । घुसका साथै कर्मचारीले समयमै काम नगरी ढिलासुस्ती गरेमा इमेल तथा टोल-फ्री नम्बरमा समेत उजुरी गर्न सकिनेछ । यसका लागि दुईजना सम्पर्क व्यक्ति समेत तोकिएको छ ।
यसैबीच अर्थमन्त्री खनालले साेमबार दातृ निकायका नेपालस्थित प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । एसियाली विकास बैंकका नेपाल प्रमुख आर्नोड कोस्वाले मन्त्री खनाललाई एडीबी नेपालको आर्थिक विकासका लागि नेपाल सरकारसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोषका नेपाल प्रमुख जहान सार्वतले पनि मन्त्री खनालसँग भेट गर्दै आर्थिक सुधारका लागि नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ ।
मन्त्री खनालले आर्थिक सुधारका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषले यसअघि देखि नै दिँदै आएका सुझाव कार्यान्वयनमा तिब्रता दिने प्रतिबद्धता जनाउनुभएको छ ।