जेन-जी पुस्ताले चुनावी प्रतिस्पर्धा राजनीतिक दलहरुलाई धक्का दिन के गर्नुपर्छ ?

आश्विन ४, २०८२ |किरण पौडेल
जेन-जी पुस्ताले चुनावी प्रतिस्पर्धा राजनीतिक दलहरुलाई धक्का दिन के गर्नुपर्छ ?

काठमाडौं । जेन-जी पुस्ताले गरेको २७ घण्टाको आन्दोलनले राजनीतिक दल नेतृत्वको सत्ता ढल्यो र नागरिक सरकार गठन भयो । 

सत्ता ढाल्ने सबैभन्दा ठूलो अस्त्र बन्यो- युवाको एकता । तर फागुन २१ गतेका लागि घोषित निर्वाचनमा प्रतिस्पर्धा गर्न युवा अझै एक भइसकेका छैनन् । जेन-जीका छुट्टा-छुट्टै समूह छन् । उनीहरु चुनावी प्रतिस्पर्धामा गएर राजनीतिक परम्परागत दलहरुलाई धक्का दिन के गर्नुपर्छ त ?

कुनै पनि गतिरोध पन्छाउने अस्त्र नै सामूहिक एकता हो । जसरी जेन-जी समूहले भ्रष्टाचारमा लिप्त भएको भन्दै राजनीतिक दल नेतृत्वको सरकारलाई एकताबद्ध भएर परास्त गरे त्यसैगरी आगामी चुनावमा एक हुन सक्नुपर्छ । 

युवाले चाल्ने एकीकृत कदम र उठाउने एउटै स्वर नै पुराना दललाई धक्का दिने उपाय हो । यसका लागि उनीहरुले दलकै स्वरुप पनि लिन सक्छन् र त्यही दलले आगामी निर्वाचनमा प्रभावशाली उपस्थिति देखाउने प्रयास गर्ने रणनीति लिन सक्छन् । 

खासमा यही नै सबैभन्दा उपयुक्त बाटो हो । आफ्नो मुद्दा, आफ्नो आन्दोलन, आफ्नै दल, आफ्नै उम्मेदवार । यसले दशकौंदेखि उही अनुहार हेरेर पाकेका नागरिकलाई पनि नयाँ उत्साह र आशाको प्रवाह गर्न सक्छ ।

अहिले गठन भएको सरकारमा सहभागी भएर जेन-जी युवाहरुले अघिल्ला सरकारका पालामा भएका भ्रष्टाचार र अनियमितताका काण्डको छानबिन गर्नुपर्छ । भ्रष्टाचार रोक्नुपर्ने माग गर्दै विद्रोहमा होमिएका युवा सफल भएका हुन् । 

अब आफैं सरकारमा सहभागि भएर भ्रष्टाचार छानबिन गर्ने मात्र होइन, दोषीलाई कारबाही गराउन सके उनीहरुप्रति जनताको विश्वास बढ्छ र निर्वाचनमा मत पाउन पनि सजिलो हुन्छ । त्यति मात्र नभएर भ्रष्टाचारका सहयोगि र विचौलियालाईसमेत निस्तेज गर्न सकिन्छ ।

मतदाताको लगातारको दबाब र खबरदारी, प्रतिरोधी र क्रान्तिकारी पुस्ताको कार्यगत एकताजस्ता पनि उपाय नभएका होइनन् । तर जेन-जी आन्दोलनका कतिपयले भने झैं अब पनि उही प्रवृत्ति र रवैया देखाउने नेता र दलको अनुहार नहेर्ने मात्र होइन, बहिस्करण नै गर्ने हिम्मत नेपाली समाजले देखाउन सक्नुपर्छ । 

त्यसका लागि युवाहरुले संगठित भएर जनता माझ आफ्ना एजेन्डा पुर्‍याउन सक्नुपर्छ । अनि मात्र जेन-जी पुस्ताको बिद्रोह र बलिदानी सार्थक हुन सक्छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।