काठमाडौं । सुनको मूल्य आज पनि तोलामा १२ सय रूपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार २ सय रूपैयाँमा कारोबार भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
आन्तरिकभन्दा पनि वाह्य कारणले सुनको भाउ दिनदिनै उकालो लागेको हो । रुस–युक्रेन युद्धदेखि, अन्य ठूला शक्ति राष्ट्रबीच संघर्ष चर्किंदा सुरक्षित लगानीका लागि लगानीकर्ताले डलरभन्दा सुन रोजेका छन् । जसका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उकालो लागिरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य रुस–युक्रेन, इजरेल–हमास युद्ध र अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले विश्वका कैयौँ देशमा लगाएको करका कारण सुनको भाउ उच्च भएको बताउनुहुन्छ ।
बज्राचार्यका अनुसार अहिले भारत, चीन, रुस, ब्राजिललगायतका मुलुकहरुले ब्रिककरेन्सी निकाल्न लागेका छन् । उनीहरुले अमेरिकालाई चुनौती दिन खोज्दा त्यसको असर सुनचाँदीको भाउसम्मै पुगेको हो । तर घट्ने पनि सम्भावना रहेकाले आफूलाई आवश्यक पर्नेमात्रै खरिद गर्दा आगामी दिनमा गुमाउने जोखिमबाट बँच्न सकिने व्यवसायीहरु बताउछन् । भाउ आकासिएपछि पहिलेको तुलनामा कारोबार भने कम भएको छ ।
चाडपर्वका बेला उपभोक्ताले नयाँ सुन खरिदभन्दा पुराना गहनालाई मिलाएर बनाउने कार्यलाई प्राथमिकता दिइरहेको व्यवसायीको भनाइ छ।