काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति संगीता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीसहित १३ जनालाई प्रतिवादी बनाएर आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले तत्कालीन कायम मुकायम रजिस्ट्रार झन्कार लामिछाने, तत्कालीन फाइनान्स म्यानेजर कैलाशप्रसाद देव, तत्कालीन बायोमेडिकल इन्जिनियर सरोज भण्डारी, शिक्षण अस्पताल महाराजगन्जका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरीलगायतलाई प्रतिवादी बनाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमआरआई मेसिन कम गुणस्तरको खरिद गरी आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा दर्ता गरेको हो । मेसिन खरिद गर्दा १२ करोड ७ लाख रुपैयाँभन्दा बढी खर्च गरेको अख्तियारको अनुसन्धानबाट देखिएको छ ।
उनीहरुलाई जनही ९ करोड ३४ लाख २६ हजारभन्दा बढी बिगो माग दाबी अख्तियारले गरेको छ । अख्तियारले जनही ३ महिनादेखि ३ वर्षसम्म कैद सजायको मागसमेत गरेको छ ।