काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र बनाउन र शिक्षकहरुको दरबन्दी मिलान गर्न सम्वन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
उहाँले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठयक्रम विकास केन्द्रका अधिकारीहरुसँग छलफल गरी सामुदायिक र संस्थागत विद्यालयहरुको पाठ्यक्रमको विकास गर्दा गम्भीर भएर काम गर्न निर्देशन दिनुभएको हो ।
मन्त्री पुनले नास्टलाई एक साताभित्र उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने सुझाव दिन निर्देशन दिनुभयो । त्यस्तै मन्त्री पुनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ३ घण्टा छलफल गर्नुभएको थियो । छलफलपछि उहाँले शिक्षकहरुको दरबन्दी मिलान, विद्यार्थी संख्या ज्यादै न्यून रहेको विद्यालयहरु मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यापकहरुको नियुक्ति गर्न देशैभर लागू हुने गरी कार्यविधि बनाउने, अनलाइन सिकाइको लागि डिजिटल शैक्षिक सामग्रीहरु निर्माणमा जोड दिनुभएको थियो ।
यसैगरी पाठयक्रम विकास केन्द्रमा पनि उहाँले २ घण्टा छलफल गर्नुभएको थियो । छलफलपछि सामुदायिक र संस्थागत विद्यालयहरुको पाठ्यक्रमको विकास गर्दा गम्भीर भएर काम गर्न निर्देशन दिनुभएको छ ।