कर्णाली प्रदेशका ३ जिल्लामा मात्र ५५ भौतिक संरचनामा तोडफोड र आगजनी, ११ सरकारी कार्यालयका सेवा ठप्प

आश्विन ४, २०८२ |कमल पन्त|देव राना
कर्णाली प्रदेशका ३ जिल्लामा मात्र ५५ भौतिक संरचनामा तोडफोड र आगजनी, ११ सरकारी कार्यालयका सेवा ठप्प

सुर्खेत । भदौ २४ गतेको प्रदर्शनका क्रममा कर्णाली प्रदेशमा ३ जिल्लाका ५५ वटा भौतिक संरचनाहरू तोडफोड र आगजनी भएका छन् । 

भौतिक संरचनामा भएको तोडफोड र आगजनीका कारण ११ वटा सरकारी कार्यालयको सेवा पूर्णरूपमा ठप्पा भएको छ । त्यस्तै ४७ वटा सवारी साधानहरू पूर्णरूपमा नष्ट भएका छन् ।

जेन-जीको आन्दोलनका क्रममा कर्णाली प्रदेशका ५५ वटा भौतिक संरचनामा क्षति पुगेको छ। क्षति भएका भौत्तिक संरचनामध्ये ३१ वटा सरकारी, ३ वटा गैर सरकारी संघ संस्थाका कार्यालयहरू छन् । 

त्यस्तै ९ व्यक्तिका घर र १२ वटा विभिन्न पार्टीका कार्यालयहरू हुन । क्षति भएका भौत्तिक संरचनामध्ये जुम्ला ६, मुगु २ र सुर्खेतका ४७ वटा कार्यालयहरू छन् । जसमध्ये वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेशसभामा सबैभन्दा बढी क्षति भएको छ ।

आगजनीबाट भौतिक संरचनामा पूर्णरूपमा क्षति भएपछि नापी कार्यालय सुर्खेतले अनिश्चितकालका लागि कित्ताकाट रोकिएको छ भने प्रदेश लेखा नियन्त्रणकको कार्यालयले तत्कालका लागि कर्मचारी तलबबाहेक अन्य गतिविधि गर्न नसक्ने अवस्थामा पुगेको छ ।

आगजनी र तोडफोडका कारण वडा कार्यालयहरू क्षतिग्रस्त भएपछि वीरेन्द्रनगरका १ देखि १२ सम्मका वडाबाट प्रवाह हुने सेवाहरू हप्तादिनदेखि ठप्प छन् । तत्काल भौतिक संरचना निर्माण गर्न सम्भव नभएपछि क्षति भएका वडाहरूले नगरपालिकाबाट एकीकृत रूपमा सेवा प्रवाह गर्ने तयारी गरेका छन् ।

आन्दोलनकारीले कर्णाली प्रदेशका कुल ८० वटा सवारी साधनमा आगजनी र तोडफोड गरेक गर्दा ४७ वटामा पूर्णरूपले क्षति भएका छन् । पूर्ण रूपमा क्षति भएकामध्ये ३९ वटा सरकारी र ७ वटा व्यक्तिगत सवारी साधनहरू हुन् । 

कर्णालीका दश जिल्लामध्ये हुम्ला, कालीकोट, दैलेख, सल्यान, रूकुमपश्चिम, जाजरकोट र डोल्पामा आगजनी र तोडफोडका घटना भएका छैनन् । 


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।

Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।