जनकपुर । जेन-जी आन्दोलनका क्रममा निकै क्षति पुगेको मधेश प्रदेश सभाको सरसफाइ तिव्रताका साथ भइरहेको छ ।
सभामुख, उपसभामुख, प्रदेश सभा सचिवलगायतका आवास क्षेत्र सुरक्षित रहे पनि प्रदेश सभा, प्रदेश सभा सचिवालय, विषयगत समिति र संसदीय दलका कार्यालयहरूमा पूर्णरूपमा आगजनी भएको छ । तोडफोड र आगजनीका कारण आवश्यक कागजपत्र फर्निचर र कम्प्युटरलगायतका उपकरणहरू जलेर नष्ट भएका छन् ।
सरसफाइ चलिरहँदा सहकर्मी अनिल मिश्र र अमरकान्त ठाकुरले तयार परेको रिपोर्ट-
प्रदेश सभा सुचारूका लागि सर्वदलीय वैठक बोलाउने सभामुखको तयारी छ भने जनकपुर चुरोट कारखानाको पुरानो भवनलाई मरम्मत सम्भार, रंग रोगन र स्त्तरोन्नती गरि सञ्चालनमा रहेको मधेश प्रदेश सरकारको मुख्यालयको कामकाज अझै सुचारू हुन सकेको छैन ।
आन्दोलनकारीहरूको निशानामा परेपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, शिक्षा तथा संस्कृति मन्त्रालय, भौतिक पूर्वाधार तथा विकास मन्त्रालय र श्रम तथा यातायात मन्त्रालयमा तोडफोड र आगजनीका कारण महत्वपूर्ण कागजात, फर्निचर, उपकरण र सवारी साधानमा ठुलो क्षति पुगेको छ ।
यसका साथै धनुषामा रहेका १८ वटा स्थानीय तह मध्ये सबभन्दा बढि जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा क्षति पुगेको छ । यस उपमहानगरपालिकाको कार्यालयमा वितरणको लागि राखिएको खाना पकाउने ग्यास सिलिण्डर आगजनीका कारण एक पछि अर्को पडके पछि ९० प्रतिशत भन्दा बढी भवन क्षतिग्रस्त भएको अनुमान छ ।
मधेश प्रदेशको राजधानीको जनजीवन क्रमशः सामान्य बनेसँगै विद्यालय र सरकारी कार्यालयहरू सुचारू भए पनि प्रदेश सभा र प्रदेश सरकारको नियमित कामकाजले गति लिन सकेको छैन ।