राष्ट्रपतिसँग भेटेर जेन-जी समूहले राख्यो ८ बुँदे माग

आश्विन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपतिसँग भेटेर जेन-जी समूहले राख्यो ८ बुँदे माग

काठमाडौं । जेन-जीको एक समूहले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेर ८ बुँदे माग राखेको छ । पुरुषोत्तम यादव नेतृत्वको समूहले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेलगायतका माग गरेको हो ।

त्यसैगरी प्रत्यक्ष निर्वाचित कार्यकारीको पदावधी २ कार्यकालभन्दा बढी हुन नहुने र सांसदहरु मन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्ने माग पनि उनीहरुले गरेका छन् । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने र नो भोटको समेत व्यवस्था गर्नुपर्ने उनीहरुको मागमा उल्लेख छ ।

प्रतिनिधिमण्डलले जेन–जी आन्दोलनका क्रममा शहिद भएकाहरुका परिवारलाई तत्काल सहयोग उपलब्ध गराउन र घाइतेहरुको निशुल्क उपचार गरी उनीहरुको दीर्घकालीन आवश्यकता सम्बोधन गर्न माग गरेको छ । त्यसैगरी जेन–जी आन्दोलनमा सहभागीहरुविरुद्ध कुनै पनि अभियोजन नगर्ने गरी उचित सुरक्षा दिन, राज्यबाट भएका गैरन्यायिक हत्यालगायत मानवअधिकारका घटनाको अनुसन्धान गर्न स्वतन्त्र र अधिकारसम्पन्न आयोग गठन गर्नुपर्ने माग पनि छ ।

जेन–जी समूहले बुझाएको मागपत्रमा हालसम्म सार्वजनिक पद धारण गर्नेको सम्पतिको छानबिन गरी दोषीलाई कारबाही गर्ने र त्यस्तो सम्पति राष्ट्रियकरण गर्ने, निजामती प्रशासनदेखि न्यायपालिकासम्मलाई स्वतन्त्र र सक्षम बनाउने, निर्वाचनपछि आउने प्रतिनिधिसभाले राज्यका निकायहरुलाई पुनर्संरचना गर्नुपर्ने उल्लेख छ ।

भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने प्रतिबद्दता जनाउनुभएको जेनजी प्रतिनिधिहरुले बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.