दोलखा । दोलखाको रोल्वालिङ हिमश्रृंखलाअन्तर्गतको 'यलुङ रि' हिमालको शिखरमा एकै पटक आठजना महिलाले सफल आरोहण गरेका छन् ।
हिमाल आरोहणमा महिलाको सहभागितालाई प्रर्वद्धन गर्ने लक्ष्यसहित रोल्वालिङ क्षेत्रको ५ हजार ६ सय ३० मिटर अग्लो 'यलुङ रि' हिमालको ६ देशका आठजना महिलाले आरोहण गरेका हुन् । बुधबार बिहान सबै जना एकै पटक 'यलुङ रि'को शिखरमा पुगेको अन्तराष्ट्रिय हिमाल आरोहणका पथ प्रदर्शक पासाङ किदर शेर्पाले बताउनुभयो ।
महिला पर्वतारोहणको सहकार्य नाम दिइएको उक्त टोलीले अन्तर्राष्ट्रियरूपमा हिमाल आरोहणमा महिलाको सहभागितालाई प्रवद्धन गर्ने लक्ष्यसहित शुरुमा ५ हजार ९ सय ३० मिटर अग्लो रामदुङ आरोहण गर्ने तालिका थियो । तर मौसम बिग्रिएपछि रामदुङ आरोहण हुन नसकेको उहाँले बताउनुभयो । अभियानमा नेपाल, अमेरिका, अफगानिस्तान, भारत, पाकिस्तान र ताजिकिस्तानका ९ जना महिलाको सहभागी छन् । उनीहरूमध्ये अफगानिस्तानकी नेकी हैदरी भने स्वास्थ्यका कारण ४ हजार मिटर पुगेर आरोहण परित्याग गरेको शेर्पाले बताउनुभयो ।