काठमाडौं । सरकारले बाढीपहिरो र डुबानपीडितलाई राहत वितरण र अस्थायी आवास निर्माण एकै चरणमा सम्पन्न गर्ने तयारी गरेको छ ।
गतसाताको अविरल वर्षासँगै आएको बाढी पहिरो र डुबानबाट झन्डै ६ हजार मानिस विस्थापित भएका छन् । विस्थापितलाई अस्थायी आवासमा पुनर्स्थापित गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लगत संकलनको काम अन्तिम चरणमा पुर्याएको छ । प्रदेश र स्थानीय सरकारसहित विभिन्न संघसंस्थाले राहतको घोषणासहित केही राहत वितरण गरिरहेका छन् । राहत वितरणलाई एकद्वार प्रणालीबाट थप व्यवस्थित गर्न प्राधिकरणले सरोकारवाला निकायहरुसँग आज छलफल गरेको छ । छलफलमा विश्व स्वास्थ्य संगठन, खाद्य तथा कृषि संगठन, राष्ट्र संघीय बालकोष, सेफ दि चिल्ड्रिन, केयर नेपाललगायतका संघसंस्थाले सहयोगको प्रतिवद्धता जनाएका छन् ।
विपद्को केन्द्रबिन्दू बनेको इलाममा मात्रै १ सय ६ परिवार विस्थापित छन् । झापामा डुबानका कारण ५ हजार परिवार विस्थापित बन्दा करिब १५ सय परिवारलाई पुनर्स्थापना गर्नुपर्ने देखिएको छ । मोरङमा ३७ परिवार र रौतहटमा ७ सय ५७ जना विस्थापित छन् ।