काठमाडौं । जेन-जीको दुई दिनको प्रदर्शनपछि देशको राजनीतिमा उथलपुथल ल्याइदियो ।
आन्दोलनकै बलमा नयाँ सरकार गठन भइसकेको छ । तर आन्दोलनरतपक्ष एक ठाउँमा उभिन सकेको छैन । अहिले जेन-जीभित्र राजनीतिक परिवर्तनको जस कसले लिने भन्नेमा आरोप-प्रत्यारोप चलेको छ । विभिन्न समूहले जेन-जीको नेतृत्व आफूहरूले गरेको दाबी गरेपछि विवाद देखिएको हो ।
अहिले सामाजिक सञ्जालमा जेन-जी आन्दोलनको वास्तविक अगुवाको खोजी हुन थालेको छ । आन्दोलनमा सहभागी धेरै युवाले मिराज ढुंगानाको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै खोजी गरिरहेका छन् ।
उहाँले सामाजिक संञ्जालबाटै दुई घण्टाका लागि आन्दोलन आह्वान गर्नुभएको थियो । तर उहाँ आन्दोलन सुरू भएको दिनदेखि नै कतै देखिनुभएको छैन । बरू सामाजिक सञ्जालहरूमा मिराज बन्धक भएको र मोबाइलसमेत स्वीच अफ गरेको सार्वजनिक भएपछि उहाँले भिडियोमार्फत् आफू सुरक्षित रहेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा अहिले धेरै युवाले उनै मिराज नै आन्दोलनको वास्तविक अगुवा भएको दाबी गरिरहेका छन् । जेन-जी आन्दोलनका अर्का अभियन्ता पुरूषोत्तम यादव पनि वास्तविक जेन जीको आन्दोलन आफूहरूले उठाएको भनिरहनुभएको छ ।
फरक-फरक समूहमा विभाजित भएर आन्दोलनको नेतृत्व आफूले नै गरेको दाबी रहेपछि प्राप्त उपलब्धिलाई रक्षा गर्दै अघि बढ्न जेन-जी समूहलाई नै अप्ठ्यारो परेको छ ।
राजनीतिक परिवर्तनसँगै युवा पुस्ताले नेतृत्व गर्नुपर्छ भन्दै आए पनि मुख्य दलहरूबाट सम्भव नभइरहेका बेला काठमाडौंको नयाँबानेश्वरमा भदौ २३ गते सुरू भएको जेन-जी समूहको आन्दोलनले दोस्रो दिन नै देशभर असर मात्र परेन सत्ता नै फेदबदल ल्याइदियो ।
राजनीति नै उथलपुथल हुने गरी सामाजिक सञ्जालमार्फत् आह्वान गरिएको जेन-जीको आन्दोलनको नेतृत्व को भन्ने प्रष्ट खुलेन । जेन-जी समूहका युवाहरू स्वतःस्फूर्तरूपमा सडकमा उत्रिए । प्लेकार्डसहित आन्दोलनको अग्रभागमा सहभागिता जनाइरहँदा त्यसको नेतृत्वको विषयलाई लिएर कसैले दाबी गरेका थिएनन् । जब आन्दोलन सफल भयो, तब नेतृत्वको दाबी धेरैतिरबाट आउन थाल्यो ।
जेन-जी समूहहरूबीचको सहमतिबाटै अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभयो । तर अहिले पनि आन्दोलनको नेतृत्व कसले गरेको भन्ने विवाद झन् बढेको छ ।
हामी नेपाल समूहका सुदन गुरूङले आन्दोलनका क्रममा आफू जेन-जीको सहजकर्ता मात्र भएको बताइरहनुभएको थियो । तर अहिले आफूले नै आन्दोलनको नेतृत्व गरेको भन्दै जस लिने प्रयासमा हुनुहुन्छ ।
तर जेन-जीका अरू समूह गुरूङले आन्दोलनको नेतृत्व गरेको मान्न तयार छैनन् । न त उनीहरूले कसले नेतृत्व गरेको भनेर अर्को व्यक्ति नै सर्वसम्मत रूपमा अघि सार्न सकेका छन् ।
छोटो समयको आन्दोलनबाट उपलब्धि हात परेकाले पनि नेतृत्वको विषयलाई लिएर निर्णयमा पुग्न नसकिएको अभियन्ताहरूको भनाइ छ । जेन-जी आन्दोलनलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङदेखि राजनीतिक दलका युवा नेताहरूले पनि साथ दिएको बताइरहेका छन् ।
जेन-जी आन्दोलन सामाजिक सञ्जालमार्फत् नै अघि बढेकोमा दुई मत छैन । तर अहिले आन्दोलन सफल भएपछि जस लिने होडमा धेरै जना देखिँदा अन्योल भएको छ । अब जेन-जीहरू एक ठाउँमा उभिएर प्राप्त उपलब्धिलाई संस्थागत गर्न र बाँकी माग पूरा गर्न लाग्नुपर्ने छ ।