पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिका-१ साल्मेडाँडामा गोर्खा स्मारक शिलान्यास भएको १३ वर्ष बित्दासमेत पहिलो चरणको काम सम्पन्न भएको छैन ।
पहिलो र दोस्रो विश्वयुद्धलगायत अन्य युद्धमा मारिएका र हराएका ६० हजार नेपालीहरूको पुस्तौंसम्म स्मरण गराउने उद्देश्यले २०६९ साल मंसिर १२ गते शिलान्यास गरि २०७१ देखि निर्माण कार्य थालेको गोर्खा स्मारक बृहत योजना निर्माण सुस्त छ ।
गोर्खा भूतपूर्व सैनिक संघ गेसो भित्रको आन्तरिक द्वन्द्वका कारण निर्माणाधीन गोरखा स्मारक पार्क निर्माण कार्यले गति लिन नसक्दा अलपत्र पर्ने हो कि भन्ने संशय बढेको छ ।
करिब तीन अर्ब लागतमा पाँच चरणमा निर्माण सम्पन्न गर्ने गरी थालिएको गोर्खा स्मारक पार्कको पहिलो चरणमा समाधीघर, स्तम्भ, खुला मञ्च, गोलार्द्ध बनाइएको छ तर सम्पन्न भएका छैनन् ।
दोस्रो चरणदेखि संग्रहालय, सांस्कृतिक ग्राम, गोरखा टावर, १९ जातजातिका धर्म, संस्कृति, श्रद्धाञ्जलीसभा हल, ३ डिब्बे रेल सञ्चालनलगायत महत्वाकांक्षी योजना सुरू नै भएको छैन ।
१३ वर्षअघि गेसोको अगुवाईमा अघि सारिएको योजनाले गति लिन नसक्नुको प्रमुख कारण आन्तरिक द्वन्द्व देखिएको छ । आन्तरिक खटपटका कारण तत्कालीन संस्थापक सभापति पदमबहादुर गुरूङले २०७३ सालमा राजीनामा दिएपछि गेसो यो योजनाबाट बाहिरियो ।
गेसो बाहिरिएपछि गोर्खा स्मारक ट्रष्टले निर्माण कार्यलाई निरन्तरता दिए पनि गति लिनसकेको छैन । आयोजनाले गति लिन नसकेपछि प्रदेश र स्थानीय सरकारले चासो देखाएको छ ।
पहिलो चरणको समाधीस्थल निर्माण कार्य ८५ प्रतिशत सकिएको र २५ करोड खर्च भइसकेको जनाएको छ । संघीय र प्रदेश सरकारबाट सात करोड ४१ लाख र बाँकी करिब १७ करोड गोर्खा समुदायबाटै चन्दा संकलन गरी खर्च गरिएको हो ।
दोस्रो चरणको पूर्वाधार निर्माणका लागि नेपाल, ब्रिटिस र ब्रुनाई सरकारसँग सहयोगका लागि अपिल गरिने ट्रष्टको तयारी छ । गोरखा स्मारक सन १८१४ देखि लडाईं तथा प्रथम र दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गरेकाको पुस्तौंसम्म स्मरण गराउने परियोजना हो ।
कास्की र स्याङ्जाको संगमस्थलमा ५२ रोपनी क्षेत्रफलमा निर्माणाधीन यो स्मारक निर्माणपछि युद्धका बेला ज्यान गुमाउनेको जिवनी सबैले अध्ययन अवलोकन गर्न पाउनेछन् ।
जसरी नेपालीहरूको गौरवको आयोजनाका रूपमा काम थालनी भयो, त्यसैगरी निरन्तरता पाउन नसक्दा गोर्खा स्मारक अलपत्रै पर्ने हो कि भन्ने चिन्ता बढेको छ ।