धरान । असार १० गतेको समयसीमा भित्र बजेट ल्याउन नसकेको धरान उपमहानगरपालिकामा चालु आर्थिक वर्षको बजेट ल्याउन सहमति जुटेको छ ।
मेयर-उपमेयरबीचको खटपटका कारण लामो समयसम्म बजेटविहीन बनेको धरानमा अन्ततः आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउने सहमति जुटेको हो । सहमति अनुसार अब धरानमा १ अर्ब ९८ करोड रूपैयाँको बजेट प्रस्तुत हुने भएको छ ।
सहमति जुटेपछि आइतबार कार्यपालिका बैठकले बजेट पास गर्ने र भदौ २६ गते नगरसभामा प्रस्तुत गर्ने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंले जानकारी दिनुभयो ।
धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट सिलिङ संशोधनसहित कार्यपालिका बैठकले पारित गर्ने निर्णय गरेको हो । स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले निर्धारण गरेको बजेटबाट चालु खर्चबाहेक पुँजीगततर्फको कुल बजेटबाट १० प्रतिशत घटाएर कार्यान्वयन गर्ने निर्णय गरेपछि बजेट आउने निश्चित भएको हो ।
यसअघि स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले २ अर्ब २० करोड ७४ लाख ५९ हजारको सिलिङ एमालेको असहमतिबीच बहुमतले पारित गरेको घोषणा गरिएको थियो । अब उक्त बजेटमा पुँजीतगतर्फ १० प्रतिशत घटेर बजेट सिलिङ कायम हुने भएको छ ।