महिला लिग : समूह ‘बी’ विजेता बन्दै चर्च ब्वाईज मुख्य ड्रमा प्रवेश

भाद्र २१, २०८२ |खेल ब्युरो
महिला लिग : समूह ‘बी’ विजेता बन्दै चर्च ब्वाईज मुख्य ड्रमा प्रवेश

काठमाडौं । चर्च ब्वाईज युनाइटेड समूह 'बी'को विजेताका रुपमा एन्फा महिला लिगको मुख्य ड्रमा प्रवेश गरेको छ । शनिबार सम्पन्न खेलमा छहारी युवा क्लबलाई ५-२ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाईज महिला लिगमा छनोट भएको हो ।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न समूह 'बी'को अन्तिम खेलमा चर्च ब्वाईजलाई जित दिलाउन वर्षा ओलीले ब्रेस पुरा गरिन् । यस्तै सरिता नाथ, निर्मला चौधरी र संगीता विकले १-१ गोल थपे ।

यससँगै ६ खेल खेलमा ५ जितसहित १५ अंक जोडेर समूह विजेताका रुपमा चर्च ब्वाईज शीर्ष डिभिजनमा छनोट भएको हो । यस समूहबाट आरएस रिसार्ट एन्ड विच फुटबल क्लब समान १५ अंक रहे पनि गोल अन्तरमा पछि पर्दा दोस्रो स्थानमा रहेर अघि बढ्यो। तेस्रो स्थानमा रहेको राप्ती फुटबल क्लब तेस्रो स्थानमा रहेर प्लेअफ खेल्ने छ ।

आजै सम्पन्न समूह 'ए'को अन्तिम खेलमा न्युराड टिम एनआरटी र संकटा क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे । यसअघि नै महिला लिगमा छनोट भइसकेको संकटा १६ अंकसहित समूह एको शीर्ष स्थानमा रहृयो । एनआरटी १३ अंकसहित दोस्रो स्थानमा रहँदै बढुवा हुँदा झापा एफसी समूहको तेस्रो स्थानमा रहृयो ।

यससँगै छनोट चरणबाट मुख्य लिगमा छनोट हुने ४ टोलीको टुङगो लाग्दा पाँचौ तथा अन्तिम टोलीको टुङ्गो सोमबार हुने झापा र राप्तीबीचको प्लेअफ खेलपछि लाग्ने छ ।