काठमाडौं । ताजिकिस्तानमा जारी एएफसी अन्डर-२३ एसियन कप छनोटमा सिरियासँग पराजित भएसँगै नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । समूह 'के' मा रहेको नेपाल सिरियासँग ४-२ गोलले पराजित भएको हो ।
दुशान्बेको रिपब्लिकन सेन्ट्रल स्टेडियममा खेलको २६औं मिनेटमा मोहम्मद अल-मुस्तफाले गोल गर्दै सिरियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा नेपालले पुनरागमन गर्दै अग्रता लिएको थियो ।
५५औं मिनेटमा निराजन धामीले गोल गर्दै स्कोर १-१ बराबरीमा ल्याए । त्यसपछि ६५औं मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै नेपाललाई २-१ को अग्रतासमेत दिलाएका थिए ।
तर अन्तिम २५ मिनेटमा सिरियाले खेल आफ्नो पक्षमा फर्काउन सफल भयो । ७३औं मिनेटमा अली अल-रिना र ८१औं मिनेटमा महमूद अल-असवदले गोल गर्दै सिरियालाई ३-२ को अवस्थामा पुर्याएका थिए । ९०औं मिनेटमा मोहम्मद नाइफले गोल गरेपछि सिरियाले ४-२ को सहज जित हात पार्यो ।
यसअघि नेपाल पहिलो खेलमा आयोजक ताजिकिस्तानसँग ४-० ले पराजित भएको थियो । लगातार दुई खेलमा हार व्यहोरेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
अर्कोतर्फ सिरियाले यसअघि फिलिपिन्सलाई २-१ ले पराजित गरेको थियो । यस जितसँगै सिरियाले फाइनल चरणमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । समूह 'के' मा सिरियाको ६ अंक छ ।
नेपालले भने अंकको खाता खोल्न सकेको छैन । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल २४ भदौमा फिलिपिन्ससँग खेल्नेछ ।