काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख र ऐतिहासिक इन्द्रजात्रा पर्व शनिबार हर्षोल्लासका साथ मनाइएको छ ।
देवराज इन्द्रको पूजाआराधना गरी यो जात्रा मनाइएको हो । ८ दिनसम्म मनाइने इन्द्रजात्राको मुख्य दिन शनिबार जिवित देवी देवता मानिने कुमारी, गणेश र भैरवको रथ यात्रा समेत गरिएको छ ।
काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठक अगाडिबाट जीवित देवीदेवताका रुपमा पुजिने कुमारी, गणेश र भैरवको रथलाई नगर परिक्रमा गराइएको छ । दुईवटा डोरीको सहायताले हसे हाइसै भन्दै तीनवटै रथलाई काठमाडौंको क्वने अर्थात् तल्लो टोलमा परिक्रम गर्ने चलन छ ।
हरेक वर्ष इन्द्रजात्राका दिन राष्ट्रप्रमुखले जीवित देवीदेवता मानिने कुमारी, गणेश र भैरवको पूजा गरी जात्रा हेर्ने चलन छ । यस वर्ष पनि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ सरकारी अधिकारी तथा कूटनीतिक नियोगका प्रतिनिधिहरुले समेत गद्दी बैठकबाट इन्द्रजात्रा अवलोकन गर्नुभयो ।
इन्द्रजात्राको प्रमुख आकर्षण भनेको लाखे प्याखँ र पुलुकिसी प्याखँ अथात् नाच हो । परम्परागत वाजाको तालमा निकै हुलमुल र भीडभाडका बीच आउने लाखे र पुलुकिसी नाच हेर्नेको घुइँचो लाग्यो ।
पुलुकिसीलाई देवराज इन्द्रको वाहनको रुपमा लिइन्छ । यसका साथै परम्परागत दशअवतार, झकूप्याखँ, हलचोक भैरव, देवी प्याखँलगायत पनि देखाइएको छ ।सत्ययुगमा देवराज इन्द्रले आफ्नी आमालाई वसुन्धराको व्रत बस्न आवश्यक पारिजातको फूल पृथ्वीमा लिन आउँदा वगैंचामा फूल टिप्दै गर्दा चोर भनि इन्द्रलाई डोरीले बाँधिएको सम्झनामा यो जात्रा मनाउन थालिएको किवंदन्ती छ ।
इन्द्रलाई डोरीले बाँधिएको झल्को दिने गरी इन्द्रमूर्ति समेत प्रदर्शन गर्ने चलन छ । ८ दिनसम्म मनाइने इन्द्र जात्राको मुख्य दिन काठमाडौंको बसन्तपुरबाट प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोकलगायतका स्थानमा तीन वटै रथको परिक्रममा गराइएको छ ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन लडाउने चलन छ । जात्रा सञ्चालनका लागि यस वर्ष गुठी संस्थानले ६२ लाख रुपैयाँ विनियोजन गरेको छ । काठमाडौं महानगरपालिकाले पनि अक्षय कोष स्थापना गरेको छ ।