प्रकृतिको कुचिकार गिद्ध : सिनो खाएर पर्यावरणलाई रोगमुक्त बनाउने पंक्षी

भाद्र २१, २०८२ |मनोज पौडेल
प्रकृतिको कुचिकार गिद्ध : सिनो खाएर पर्यावरणलाई रोगमुक्त बनाउने पंक्षी

कपिलवस्तु । धेरैलाई गिद्ध फोहोरी र घीनलाग्दो चरा लाग्नसक्छ । सिनो खाने हुनाले यो चरालाई अशुभ मान्नेहरू पनि छन् । तर गिद्धले विषाक्त कुरा खाएर मरेका जनावर खानबाट बाघ-चितुवालाई जोगाएर ठूलो काम गरिरहेको चराविज्ञहरू बताउँछन् । 

सेप्टेम्बर ६ तारिखमा विश्वभर १७ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइरहँदा पर्यावरण चक्रमा गिद्धको महत्व समेटिएको एक रिपोर्ट ।

सन् १९९० को दशकमा नेपाल, भारतलगायत दक्षिण एशियाबाट नाटकीयरूपमा ९१ प्रतिशतभन्दा बढी गिद्ध लोप भए । गिद्ध विनाशको कारक बनेको पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधीमाथि नेपालले ०६३ जेठमा प्रतिबन्ध लगाएपछि गिद्ध हृास हुने क्रम घटेको हो । 

पछिल्लो समय संरक्षण योजना र सचेतनाको प्रभावका कारण मुलुकभर गिद्ध विस्तारै बढ्दै गएपछि संरक्षणकर्मी उत्साहित बनेका छन् । घीनलाग्दो र भद्दा देखिए पनि गिद्ध पर्यावरणका लागि ठूलो भूमिका भएको पंक्षी हो । 

प्रकृतिको कुचिकार गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहोर खाएर वातावरणलाई प्रदूषण, दुर्गन्ध र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । अन्य मांसहारी जीवले मरेको जनावरको करिब ३६ प्रतिशत सिनो खाादा गिद्धले अधिकांश सडेगलेको मासु र कंकाल खाएर वातावरणलाई प्रदूषणमुक्त पार्नेगर्छ ।

शिकारी चरा समूहअन्तर्गत पर्ने गिद्ध ठूलो मांसहारी पन्छी हो । यसले आफै शिकार नगरी मरेका सिनो खान्छ । सिनो खाएर वातावरण प्रदूषण नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई 'प्रकृतिको कुचिकार' पनि भनिन्छ । 

पर्यावरण चक्रमा गिद्ध नभएमा सिनो सडेर दुर्गन्ध गर्छ । यस्तो सिनो खाने कुकुर, स्याल, मुसा र झिंगामार्फत रेबिज, प्लेग, आउँ, हैजा, झाडापखालाजस्ता सरुवा रोग मानिसमा फैलिने जोखिम बढाउँछ । त्यस्तै, पशुचौपायामा एन्थ्रेक्स, ब्रुसेलोसिस् र क्षयरोग सर्न सक्ने सम्भावना हुन्छ । 

विषाक्त सिनो खाएमा बाघ-चितुवा बिरामी पर्नसक्छन् । तर गिद्धले दूषित सिनो पचाउनसक्ने भएकाले बाघ-चितुवा जोगाउने अभिभावक बनेको संरक्षणकर्मीहरू बताउाछन् ।

विश्वमा २३ र नेपाललगायत दक्षिण एशियामा ९ प्रजातिका गिद्ध पाइन्छन् । मानिसभन्दा आठ गुणा टाढासम्म देख्ने गिद्धले औसत तीन दिनमा एक केजी सिनो खान्छ । सिनोको खोजीमा ३ सय किलोमिटर टाढासम्म उड्छ । अफ्रिकामा गरिएको अध्ययनले एउटा गिद्धले सिनो सरसफाइमा ११ हजार अमेरिकी डलर बराबर योगदान गर्छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।