नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्व प्रदान

भाद्र १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्व प्रदान

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्व प्रदान गरिएको छ ।

 गृह मन्त्रालयमा आज आयोजित एक समारोहकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले उहाँलाई दर्ज्यानी चिह्व प्रदान गर्नुभएको हो । यही भदौ १३ मा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । दर्ज्यानी चिन्ह लिँदै उहाँले सरकारले दिएको जिम्मेवारी निष्ठापूर्ण, अनुशासित र प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले विभिन्न घटनाक्रममा ज्यान गुमाएका प्रहरी संगठनका सदस्यहरुलाई श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइतेहरुको सहज जीवनयापनको कामना गर्नुभयो । आफ्नो कार्यकालमा नागरिकमा राज्यमाथिको विश्वास र भरोसा अभिवृद्धि गर्न सधैँ प्रयत्नरत रहने समेत बताउनु भयो ।

हाल प्रचलित प्रहरी ऐन र नियमावलीअनुसार नवनियुक्त प्रहरी महानिरीक्षक खापुङ छोटो समयका लागि मात्र महानिरीक्षकमा रहनुहुनेछ । छलफलको क्रममा रहेको प्रहरी विधेयक पारित हुन नसके उहाँले २ महिना ७ दिन मात्र प्रहरीको कमाण्ड समाल्नुहुनेछ । २०२७ मंसिर २३ मा तेह्रथुममा जन्मिनुभएका खापुङ २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको हो । यो अवधिमा उहाँले मोरङ, धरान, दरबारमार्ग, बागलुङलगायतका थुप्रै प्रहरी इकाइमा नेतृत्व गरिसक्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.