ललितपुर । ललितपुर महानगरले एक विद्यालय-एक सम्पदा कार्यक्रम सुरू गरेको छ ।
महानगरभित्र रहेका सम्पदा संरक्षण गर्न र विद्यार्थीलाई सम्पदाको बारेमा जानकारी दिन यो कार्यक्रम ल्याएको महानगरले जनाएको छ । ललितपुर महानगरले बुधबार सामुदायिक विद्यालय र संस्थागत विद्यालयका प्रधानाध्यापक र सरोकारवालासँग छलफल गरी यो कार्यक्रम सुरूवात गरेको हो ।
उक्त कार्यक्रमअन्तर्गत विद्यार्थीले विद्यालयको नजिक रहेका वा पायक पर्ने स्थानमा रहेका सम्पदाको सरसफाई गर्ने, संरक्षण गर्ने काम गर्छन् । महानगरभित्रका ढुंगेधाराहरु, पाटी (फल्चा), बौद्ध विहारहरू, मठमन्दिर, बौद्धस्तुपा, प्रमुख पोखरीको संरक्षण र सरसफाईमा विद्यार्थी जुट्ने छन् ।
महानगर प्रमुख चिरीबाबु महर्जनले यो महानगरको ‘ड्रिम प्रोजेक्ट’ भएको बताउनुभयाे । विद्यार्थीको लागि यो पढाईको प्रयोगात्मक कक्षा भएको बताउँदै भन्नुभयाे, ‘यो कार्यक्रम विद्यार्थीलाई जानकारी र संरक्षण दुबैको बारेमा ज्ञान दिन ल्याएका हौँ, आफूले संरक्षण गरेको कुराको माया लाग्छ , यसले जीवनपर्यन्त संरक्षणमा चासो र चिन्तन गर्न सहयोग गर्छ । विद्यार्थीले छोएर, देखेर सम्पदाको बारेमा बुझ्न पाउने भए ।’ महानगर प्रमुख महर्जनले विद्यार्थीलाई यो कार्यक्रममा सक्रिय भएर सहभागी हुन अनुरोध गर्नुभयाे ।
सामाजिक विकास समितिका संयोजक एवम् प्रवक्ता राजु महर्जनले यो कार्यक्रमले विद्यार्थीलाई प्रयोगात्मक शिक्षासँग जोड्ने बताउनुभयाे । यो कार्यक्रम महानगरभित्र २९ वटै वडामा सञ्चालन गरिएको शिक्षा महाशाखा प्रमुख देवीप्रसाद पौडेलले जानकारी दिनुभयाे । उहाँका अनुसार यो कार्यक्रमका अनुगमनका लागि पाँच सदस्यीय तीनवटा अनुगमन समितिको समेत गठन गरिएको छ ।
उक्त समितिले दिएको मुल्याङ्कन प्रतिवेदनका आधार संरक्षणमा उत्कृष्ट तवरले काम गर्ने विद्यालयलाई पुस २ गते महानगरको सातौं स्थापना दिवसको अवसरमा पुरस्कृत गरिनेछ ।
नगर प्रमुख महर्जनले भन्नुभयाे, ‘पुरस्कार प्रोत्साहन हो, यसले संरक्षणको काममा सक्रिय हुन प्रेरित गर्छ । ’ सरसफाई क्रममा संकलन भएको फोहोरको वातावरण शाखाले तत्काल व्यवस्थापन गर्नेछ ।'