कपिलवस्तु । कपिलवस्तुस्थित पंक्षी आरक्ष जगदीशपुर ताल छेउछाउ पुग्दा प्रकृति प्रेमीहरू रोमाञ्चित बन्छन् ।
तालको उत्तरपूर्वी कुनामा बगाले सिमकुखुराको बथान देख्दा दु:ख पीडा नभुल्ने को होला ? दक्षिणतिर जलअप्सराका बचेराको अर्को झुण्ड देख्दा मन चङ्गा हुन्छ । तालकै उत्तरी कुनामा विश्वकै दुर्लभ पंक्षी हरिहाँसका सुन्दर बचेराले सबैको चित्त हरण गर्छन् ।
यतिखेर जगदीशपुर तालका रैथाने चरालाई बचेरा हुर्काउन भ्याइनभ्याइ छ । माउहरू ३-४ साताका बचेरालाई अघिपछि गर्दै हिँडाएर प्रकृतिसँग मिलेर बाँच्न सिकाउँदैछन् ।
आहार खोज्दै, ल्याउँदै, ख्वाउन सिकाउँदै हुर्काईरहेका छन् । तालमा सिलसिले हाँस, डुबुल्कीचरा, कुर्मा, लामअैले, सिमकुखुरा र ध्यानी बकुल्लाले बचेरा हुकाईरहेका छन् ।
त्यस्तै कोटेरो मुनिया, रातो मुनिया, वस्तु बकुल्ला र आसकोटे बकुल्लाको पनि उस्तै व्यस्तता छ । सानो जलेवा, कालो टाउके मुनिया तथा पाहेलो, रातो र कालो जुनबकुल्लाले पनि बचेरा हुकाईरहेका छन् ।
चराहरूको यो गतिविधिले जगदीशपुर पुग्ने सबैलाई आनन्दित बनाइरहेको छ । तालमा अहिले ३० भन्दाबढी प्रजातिका रैथाने चराले बचेरा हुर्काइरहेका छन् । मुलुकभरमै जगदीशपुर तालमा सबैभन्दा धेरै प्रजातिका रैथाने चराले अहिले बचेरा हुकाईरहेको चारविद् बताउँछन् ।
तालमा सिमसार क्षेत्र प्रशस्त हुँदा रोजरोजी सुरक्षित ठाउँ पाउने र आहारविहारलाई सहज हुँदा रैथाने चरा प्रजनन्का लागि यहाँ आकर्षित बनेका हुन् । यी चराले तीन महिनामा बच्चा हुर्काएर असोजसम्ममा वयस्क बनाउँछन् ।
जगदीशपुरमा चराको चिरविरसँगैको जलक्रिडाले उल्लासको वातावरण छ । त्यसैले यहाँ चरा पर्यटनको गज्जबको आकर्षण छ । १ सय ५७ हेक्टरमा फैलिएको ताल मुलुकको दोस्रो पंक्षी आरक्ष हो ।
तालले हिउँदमा उत्तरी क्षेत्रबाट बसाइँ आउने २० हजारभन्दा धेरै चरालाई आश्रय दिँदैआएको छ ।