रूकुमपश्चिमको मुसिकोट नगरपालिकामा मापदण्डविपरितका अस्थायी संरचना हटाइँदै

स्थायी संरचना हटाउन भने चुनौती
भाद्र ९, २०८२ |महेश केसी
रूकुमपश्चिमको मुसिकोट नगरपालिकामा मापदण्डविपरितका अस्थायी संरचना हटाइँदै

रूकुम पश्चिम। रूकुम पश्चिमको मुसिकोट नगरपालिकाले बजार क्षेत्रमा मापदण्डविपरीत जथाभावी बनाइएका अस्थायी संरचना हटाउन थालेको छ । खासगरी मुख्य बजारको सडक छेउछाउमा बनाइएका संरचना हटाउन लागिएको हो ।

रूकुम पश्चिमको जिल्ला सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिकाको मुख्य बजार क्षेत्रअन्तरगत सल्ले, खलंगा र सेरिगाउँको मूल सडकको दायाँबायाँ बनाइएका अस्थायी संरचना हटाउन नगरपालिकाले पहल थालेको छ । 

पछिल्लोपल्ट गत जेठ २१ गते नगर नगरकार्यपालिकाको बैठक बसी नगरप्रमुख, उपप्रमुख र १२ नं. वडाका अध्यक्ष रहेको ३ सदस्यीय समिति गठन गरी स्थानीय प्रशासनसँगको समन्वयमा यस्ता संरचना हटाउने निर्णय भएको थियो । सोही निर्णयअनुसार कार्यन्वयनमा गएको बताइएको छ ।

गत साउन पहिलो साता सार्वजनिक सूचना जारी गरी बजार क्षेत्रमा बनाइएका अस्थायी संरचनाहरू हटाउन एक महिनाको समय दिएको थियो । तर उक्त अवधिभित्र नगरपालिकाको निर्देशनलाई अटेर गरी संरचना नहटाउनेलाई नगरपालिका आफैँ हटाइदिने गरी चेतावनी जारी गरिएको छ । 

त्यसपछि भने यस्ता संरचना बनाएकाहरूले आफैले हटाउन थालेका छन् । हाललाई मुख्य बजार क्षेत्र सल्ले, खलंगा र सेरिगाउँको मूल सडकको केन्द्रबाट ५ मिटर दायाँ-बायाँ रहेका अस्थायी संरचना हटाउन भनिएको छ । तर सर्वसाधारणले मापदण्डभित्र पर्ने स्थायी संरचना पनि हटाउनुपर्नेमा त्यसो नगर्दा विभेद भएको गुनासो गरेका छन् ।

नगरपालिकाले भने यो सुरूआत भएको भन्दै चाँडै नै मापदण्डभन्दा बाहिरका सबै संरचना हटाउने प्रतिबद्धता जनाएको छ । स्थानीय सरकार गठन भएदेखि नै सडक छेउछाउ बनेका मापदण्डविपरीतका सबै संरचना हटाउन पटक-पटक निर्णय गर्ने र सार्वजनिक सूचना जारी हुने गरेको थियो । 

यसपटक भने परिणाममै देखिन गरी काम थालेको छ । तर अस्थायी घरटहरा मात्रै हटाएर स्थायीरूपमा बनाइएका घरलगायतका संरचना हटाउन ढिलाइ गर्ने हो भने स्थानीय सरकार आलोचित बन्नेछ ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


सम्बन्धित