इलाम । इलामबाट झापा आउने छोटो मार्गको रूपमा रहेको केचना-कञ्चनजंघा सडक निर्माणमा ढिलाइ हुँदा सवारी सञ्चालनमा समस्या हुँदै आएको छ ।
निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा उक्त सडकको विभिन्न खण्ड हिलाम्मे वनेको छ भने कतिपय स्थानमा सवारी सञ्चालनमा नै समस्या हुँदै आएको छ। इलाम भञ्ज्याङबाट माई नगरपालिकास्थित लोदियासम्मको विभिन्न खण्डमा जिर्ण सडकका कारण यात्रु र सवारीसाधनले ठूलै समस्या भोग्न परेको छ ।
असारसम्ममा कालापत्रे गर्ने भाका रहे पनि हुन नसक्दा यात्रा कष्टकर हुने गरेको हो । मेची राजमार्गको विकल्पको रूपमासमेत हेरिएको यस राजमार्गको निर्माण कार्य छिटो पूरा गर्न स्थानीयले दबाब दिँदै आएका छन् ।
यस सडक सुधार हुन सकेको खण्डमा इलाम सदरमुकामसहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमका बासिन्दालाई समेत प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ। मेची राजमार्गको इलाम भञ्ज्याङबाट झापाको विर्तामोड ४८ किलोमिटरमा पुग्न सकिने केचना-कञ्चनजंघा मार्गको अन्य निर्माण कार्यलाई पनि तिव्रता दिइनु पर्ने सरोकारवालाले माग गरेका छन् ।