काठमाडौं । काठमाडौंमा आयोजित काठमाडौं युथ कन्क्लेभमा लोकप्रीय कलाकार हरिवंश आचार्यदेखि युवा पर्फमर दुर्गेश थापासम्मले युवा विद्यार्थीहरुलाई मिहिनेत र संघर्ष गरे नेपालमा बसेर सफल हुन सम्भव छ भन्ने सन्देश दिनुभयो।
त्यहिँ कार्यक्रममा उपस्थित थिए पछिल्लो समयका अरू चर्चित युवा प्रतिभा रविन्द्र ढाँट र सिसन बानियाँ । करिब २ हजार विद्यार्थी सहभागी कन्लेभ युवा विद्यार्थीहरुमा सकारात्मक उर्जा भर्नमा केन्द्रित रह्यो ।
मिक्स्ट मार्सल आर्टसका च्याम्पियन रविन्द्र ढाँटसहितका युवाहरूमाझ चर्चित र लोकप्रीय पात्रहरु उपस्थित हुने भनिएको काठमाडौं युथ कन्क्लेभमा भर्खरै १२ कक्षा देखि स्नातक तह पढ्दै गरेका करिब २ हजार युवा विद्यार्थीहरु उत्साहित भएर बसेका थिए ।
ढाँटसँगै सोसल मिडिया इन्फ्लुएन्सर सिसन बानियाँ र कलाकार दुर्गेश थापालाई हेर्न उनीहरु आतुर थिए। जब तिनै जनाको प्रवेश हुन्छ, तब कार्यक्रमस्थल गुञ्जयमान हुन्छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्यले राजनीतिक निराशा व्यापक भएको भन्दै असन्तुष्टि पोख्नुभयो । आचार्यले राजनीतिक निराशा रहेपनि देशमै गर्न सकिने थुप्रै अवसर रहेको भन्दै युवालाई आशा दिलाउने प्रयास गर्नुभयो ।
कार्यक्रममा युथ आइकनबाट सम्मानित सिसन बानियाँ र एमएमए खेलाडी रविन्द्र ढाँटले समेत यूवाहरुलाई देशमै केही गर्न सकिने भन्दै उत्प्रेरणा दिनुभयो । ढाँटले हल्ला र प्रचार नगरीकन मिहिनेत गर्न सुझाव दिनुभयो ।
रविन्द्र ढाँटजस्तै कलाकार दुर्गेश थापाले आफू जिवनमा नाम र दाम मात्रै कमाउने सपना देखेर अगाडि बढेको तर अहिले आएर सबैभन्दा ठुलो शिक्षा रहेको निष्कर्ष पुगेको अनुभव सुनाउनुभयो ।
युवा नेतृत्वमा उद्यमशिलता विकाशमा केन्द्रित युथ कन्क्लेभमा आफूले मनपराएका र सफल व्यक्तिका प्रेरक कुरा सुनेपछि युवाहरु पनि सकारात्मक सुनिए । भर्खरै १२ कक्षा पास गरेर स्नातक गरिरहेका युवाहरुको अनुभव छ, नेपालमा अवसर थुप्रै छन् तर चुनौती पनि उत्तिकै छन् । केहि युवा विद्यार्थीले जसरी पनि नेपालमा केही गर्न सक्छु भन्ने विश्वास र नेपालमै केही गर्ने हुटहुटी सुनाए ।
कसैले भने विदेशमै पनि सम्भावना देखेका छन् । कतिपयले भने विदेशमा गएर अध्ययन गर्ने, सिप सिक्ने अनि नेपाल फर्किएर उद्मम गर्ने सोच बनाएका छन । नेपालमै बस्नु वा विदेश जानु दुबैमा उत्तिकै चुनौती छन्।
जहाँ रहे पनि मानिसलाई सफल बनाउने भनेको उसको मिहिनेत र संघर्षले नै हो भन्ने बुझाउन प्रभावशाली युवा वक्ताहरुको कुरा सुनेका युवा विद्यार्थीहरुले देशमा बस्ने र काम गर्ने वातावरण भने बन्नुपर्ने धारणा हामीसँग राखेका छन् ।