रामेछाप । रामेछापको सुनापति डाँडामा रहेको तामाङ समुदायको परम्परागत लहरे माने र विशाल शिव मूर्तिले आन्तरिक पर्यटकलाई लोभ्याउन थालेको छ ।
अग्लो डाँडो धर्म, संस्कृति र पर्यटनको अद्भूत सङ्गम बनेको छ । पूर्वाधार विकासले यो क्षेत्र विस्तारै धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको हो । रामेछापको सुनापति गाउँपालिका-३, हिलेदेवीस्थित सुनापति डाँडामा तामाङ समुदायले आफन्तको सम्झनामा बनाउने परम्परागत लहरे माने अहिले आकर्षक स्वरूपमा देखिन्छ।
एउटै रङ र आकारमा बनेका १ सय ८ वटा मानेहरूले डाँडोलाई धार्मिक मात्र हैन, सौन्दर्यले पनि सजाएको छ । त्यहीँ डाँडाको तल्लो भागमा अवस्थित ३५ फिट अग्लो शिवको मूर्तिसहितको सुनापति महादेव मन्दिर छ ।
जहाँ पुग्न २ सय ६५ वटा सिँढी पार गर्नुपर्छ । त्यहीँ महादेवको नामबाट गाउँपालिकाको नाम सुनापतिँ राखिएको हो। सुनापतिका यी ठाउँहरू आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेका छन् ।
सुनापति गाउँपालिकाले पर्यटन पूर्वाधार विकासलाई प्राथमिकता दिँदै करोडौँ लगानीमा नयाँ गन्तव्यहरू निर्माण गरिरहेको छ। यही वडाको मर्याङग डाँडामा ४० लाख बजेटबाट ५६ फिट अग्लो बुद्धको मूर्ति, लामा टोलमा ४० लाख बजेटको पद्मसम्भवको भव्य मूर्ति निर्माण गरिएको छ।
यी स्थलहरूलाई आपसमा जोड्न १५ लाख बजेटबाट पर्यटन मार्ग पनि निर्माण गरिएको छ। गाउँपालिकाले ग्रामीण पर्यटनलाई आर्थिक स्रोतको रूपमा विकास गरिरहेको हो। ५ वटा वडा रहेको यो गाउँपालिकाले हरेक आर्थिक वर्ष १ करोड ५० लाख देखि २ करोडसम्मको गौरवको योजना सञ्चालन गर्दैआएको छ ।
धार्मिक आस्था, सांस्कृतिक मौलिकता र पर्यटकीय सम्भावनाले भरिएको सुनापति डाँडा अब केवल आधुनिक विकाससँग जोडिएको आकर्षक गन्तव्य बनिरहेको छ।