गण्डकी प्रदेशले बनायो घरेलु मदिरा व्यवस्थापन कानुन

भाद्र ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
गण्डकी प्रदेशले बनायो घरेलु मदिरा व्यवस्थापन कानुन

काठमाडौं । घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक गण्डकी प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ ।

गत चैत १३ गते प्रदेश सभामा दर्ता भई छलफलमा रहेको विधेयकलाई मङ्गलबार बसेको बैठकले पारित गरेको हो । पारित भएको विधेयकमा घरेलु मदिराको उत्पादन एवं बिक्री वितरण गर्नका लागि इजाजत लिनुपर्ने व्यवस्था गरिएको छ । 

विधयकले धर्म, संस्कृति वा परम्परा, घरायसी प्रयोजनका लागि वार्षिक पचास लिटरसम्म उत्पादन गर्न इजाजत लिन नपर्ने भनेको छ । यसैगरी मदिरा उत्पादकले कोदो, फापर, उवा जौ, मकै, स्याउ, सुन्तला, खुर्पानी, मौवा, अम्बा, लिची, चुत्रो, डिम्बर र जडीबुटीलगायत अन्न वा फलफुल कच्चा पदार्थको रूपमा मर्चाको प्रयोग गरी बनाउनुपर्ने छ । 

मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ प्रदेश भित्र आफैले उत्पादन गर्ने तर उपलब्ध हुन नसक्ने भए स्वीकृति लिई अन्य क्षेत्रबाट ल्याउन सकिने व्यवस्था विधेयकले गरेको छ । 

मदिरालाई उत्पादन, बोटलिङ तथा प्याकेजिङ गर्दा उचित स्वच्छता र गणस्तर कायम गर्नुपर्ने, घरेलु मदिराको अनुसनुसनधानशाला वा प्रयोगशालाको स्थापना तथा संचालन गर्न सकिने उल्लेख छ । 

मदिरामा अखाद्य वस्तुको प्रयोग गरी उत्पादन वा मिसावट गरी बिक्री वितरण गरेमा बिगो जफत गरी पचास हजारदेखि एक लाखसम्म जरिवानासहित संघीय कानुनबमोजिम सजाय हुने व्यवस्था गरिएको छ । पारित विधेयकलाई प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि कार्यन्वयनमा जानेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.