झापा । तपाईंले पुस्तौंदेखि बसोबास गर्दै आएको घर र चर्चेको जमिन अरू कसैको नाममा पास भइसकेको सुन्नुभयो भने मन कति अमिलो हुन्छ होला ? त्यसमाथि लालपूर्जा पाउनै लागेको अवस्थामा यस्तो खबर सुन्नुपर्दा झन् कति पीडाबोध हुँदो हो ? झापाको वुद्धशान्ति गाउापालिका-४ को जुनेली बस्तीका डेढ सय बढी परिवार अहिले यस्तै पीडामा छन् ।
झापाको बुद्धशान्ति गाउापालिका-४ का ४ हजार दुई सय बढी परिवारसँग आफ्नो जग्गाको निस्सा सुरक्षित छ । पुस्तौंंदेखि यहाँको जमिन भोगचलन गर्दै आएका यी सुकुम्बासी परिवारले लालपूर्जाकै लागि सरकार गुहारेको पनि वर्षाैँ भयो । तर जब भूमि समस्या समाधान आयोगले सबै प्रक्रिया पुर्याएर लालपूर्जा वितरण गर्न थाल्यो, उहाँहरूले पुस्तौदेखि भोगचलन गर्दै आएको जमिन त चिया विकास निगमको नाममा दर्ता भइसकेको पत्ता लाग्यो । यो घटनाले यी सुकुम्बासी परिवार थप विलखबन्दमा परेका छन् ।
चिया विकास निगमको नाममा जग्गा दर्ता भएको खुलेपछि बुद्धशान्ति-४ को जुनेली बस्तीका मात्र डेढ सय बढी परिवारले लालपूर्जाबाट वञ्चित हुनुपरेको छ । चिया बगान खुल्नुभन्दा अघि नै यहाँ बसोबास गर्दै आएका परिवारलाई विचल्लीमा पार्नेगरी निगमको नाममा जग्गा दर्ता गरिएको घटनाले स्थानीय जनप्रतिनिधिलाई पनि झस्काएको छ ।
त्यसो त, हरेक चुनावमा गाउँ पुग्ने नेताले बुद्धशान्तिका यी सुकुम्बासी परिवारलाई लालपूर्जा दिलाइ छाड्ने आश्वासन बाँडेर भोट बटुले । तर, उहाँहरूले चर्चेको जमिन अर्कैको नाममा दर्ता भइसकेको अवस्थामा अब त्यो आश्वासन कसरी पूरा गर्लान् त ?
भूमि समस्या समाधान गरि छाड्ने रटान लगाइरहेको अहिलेको गठवन्धन सरकारले चिया विकास निगमको नाममा दर्ता भएको यो जग्गा भूमिहीनहरूलाई फिर्ता गर्ने हिम्मत जुटाउँछ कि जुटाउँदैन, त्यो भने हेर्न बाँकी नै छ ।