हुम्लाको टाँके नाकामा नेपाल-चीनबीच उच्चस्तरिय वार्ता, सीमा क्षेत्रका बासिन्दाले भोगिरहेको समस्याबारे छलफल

संखुवासभाको नाकामा समेत दुवै पक्षको निरीक्षण
भाद्र २, २०८२ |कान्तिपुर टीभी संवाददाता
हुम्लाको टाँके नाकामा नेपाल-चीनबीच उच्चस्तरिय वार्ता, सीमा क्षेत्रका बासिन्दाले भोगिरहेको समस्याबारे छलफल

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-५, टाँके नाकास्थित परम्परागत हाट स्थल (ङोन्मु तिङतिङ) मा नेपाल-चीन पक्षबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ ।

चीनको डोङ्पा सेनका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली र चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलबीच सम्पन्न वार्तामा सीमा क्षेत्रका बासिन्दाले भोगिरहेका समस्या, व्यापारिक अवरोध र विकासका सम्भावनाहरूका विषयमा विस्तृत छलफल भएको गाउँपालिकाले जनाएको छ । 

वार्तामा नेपाल पक्षले अन्य नाकामा पाइँदै आएको सहुलियत सामग्री नेप्काबासीले नपाएको गुनासो औपचारिक रूपमा राखेको थियो । साथै, चीनको हरियाचौर (ङोन्मु तिङतिङ) देखि नेपाल-चीन सीमा नजिकैसम्म मोटर बाटो विस्तार गर्न आग्रह गरिएको थियो ।

चीन पक्षले यस नाकालाई व्यवस्थित बनाउन, स्थानीय बासिन्दालाई सहुलियत सामग्री उपलब्ध गराउन र चंखेली गाउँपालिकाको विकास-निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

साथै, भविष्यमा यस नाकालाई आधिकारिक व्यापारिक नाका बनाउन दुबै देशबीच पहल गर्ने सहमति भएको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही बताउनुभयाे ।

कोभिड-१९ का कारण केही वर्ष अवरूद्ध रहेको परम्परागत हाट व्यापार पुनः सुचारू गर्ने तयारी स्वरूप भएको यस वार्तालाई स्थानीय बासिन्दाले ऐतिहासिक उपलब्धि मानेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.