बाजुरा । बुधबार राति हिमाली गाउँपालिका–१ विच्छ्यामा आएको बाढीले स्थानीयका एघार घर बगाएको छ । बाढीले गाउँपालिकाको १,३ र ५ वडा बढी प्रभावित बनेका छन् । बाढीले एघार घर बगाएको, सात घर पूर्ण क्षती र १७ घर पूर्ण जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले जानकारी दिनुभएको छ ।
बाढीले हिमाली गाउँपालिका–१ का नरेन्द्र बहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा, गोवतल थापाको घर पसल र खेतबारीमा क्षति भएको छ । बाढीले सोही गाउँपालिका–५ का नवराज बुढा,देवीलाल चदारा, विरवल चदारा, अजय चदारा, हिउँसरा ल्वार, अंगविर चदाराको घर बगाएको प्रहरी निरिक्षक चौधरीले बताउनुभएको छ।
यस्तै बाढीले बलबहादुर चदारा, मुगा लुहार, देबीलाल बुढा थापा, बीरभान लुहार र डवल लुहारको घर बगाएर लगेका प्रहरी निरिक्षक चौधरीको भनाई छ ।
बाढीका कारण हिमाली गाउँपालिका–१ का विच्छ्या बस्ने सुजलाल थापा, धनसिंह थापा, जबैलाल थापा, धनबहादुर थापा, चन्द्रापति थापा, धर्मलाल थापा, बलचन्द्र थापाको घर पूर्ण जोखिममा रहेको छ ।
यसैगरी उने थापा, लालसिंह बोहरा, डिलबहादुर थापा, हरिलाल थापा, भउरलाल थापा, चन्द्रवान थापा, रत्नपति थापा, गोबनल थापा, धर्मजीत थापा र लक्ष्मण थापाको घर पनि बाढीका कारण उच्च जोखिममा रहेको छ । यस्तै बाढीले सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संरचनामा समेत क्षती पुगेको छ ।
एकाएक आएको खोलाको बाढीले गाउँपालिकाको वडा नम्बर १ को कार्यालय विच्छ्या मावि, विच्छ्या स्वास्थ्य चौकी, स्थानीय विद्युत लाइन् झोलुंगे पुल र नेटा र देउसैनको पानी घट्ट समेत जोखिममा रहेका छन् ।
विच्छ्या खोलामा आएको बाढीले गाउँपालिकाको १,३ र ५ वडामा क्षतीको अवस्था अनुगमन गर्न गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल नेतृत्वको टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ ।
अध्यक्ष मल्लको टोलीले तीन वटै वडामा बाढीले पुर्याएको क्षतीको अवस्था र प्रभावितहरुको अवस्था बुझ्न विच्छ्या गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताउनुभयो ।
बाढीले वितण्डा मच्चाएको र मानवीय क्षती नभएपनि भौतिक र खेतीयोग्य जनमिनमा ठुलो क्षती भएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभएको छ ।
बाढीले क्षति ठुलो क्षति गरेकाले प्रहरीले विवरण संकलन गरिरहेको अध्यक्ष मल्लले बताउनु भयो । बाढीले प्रभावित भएकाहरु पिडितलाई राहत र पुनःस्थापनाका लागि गाउँपालिकाको कार्य पालिका बैठक बसेर तत्काल वितरण गर्ने पनि अध्यक्ष मल्लले बताउनुभयो ।
बाढीले प्रभावित भएका स्थानीयहरुलाई फेरी बाढी पहिरो आउन सक्ने भएकाले सजकता अपनाउन र सुरक्षित ठाउँमा बस्न आग्रह गरेको अध्यक्ष मल्लको भनाई रहेको छ ।