धनकुटामा पुनर्स्थापना र गुणस्तर सुधारसहित ६८ वटा खानेपानी योजना थप, १७ हजार जनङ्ख्या लाभान्वित

श्रावण १७, २०८२ |विनोद घिमिरे
धनकुटामा पुनर्स्थापना र गुणस्तर सुधारसहित ६८ वटा खानेपानी योजना थप, १७ हजार जनङ्ख्या लाभान्वित

धनकुटा । जरूवा मूल, मुहान, कुवा र पाधेरा सुक्नेक्रम बढेर खानेपानी समस्या चर्कंदै गएको धनकुटामा पुनर्स्थापना, गुणस्तर सुधार र नयाँ गरी ६८ वटा खानेपानी आयोजना थप भएका छन् । 

करिब २५ करोड रूपैयाँ लागतका यी आयोजनाबाट १७ हजार जनसङ्ख्या लाभान्वित हुनेछ । स्रोत सुकेर समस्यामा परेका उपभोक्तामा सञ्चालित आयोजनाले खानेपानी पाउने आशा जगाएको छ ।

धनकुटाको शहिदभूमि गाउँपालिका-६ कि अम्बिका भण्डारीको घर सुन्तलाबारी गाउँमा पर्छ । सुक्खाग्रस्त यो गाउँमा सधैजसो पिउने पानीकै पिरलो छ। नजिकैका जरुवा मुहान, कुवा र पधेरा सुकेपछि खोलाखोल्सी र खेतको पानीले गुजरा चलाउनु पर्ने भण्डारीको बाध्यता छ । 

त्यहाँको चाम्चा गाउँमा पनि खानेपानीको चर्को समस्या छ । ४५ वर्षदेखि स्थानीयले प्रयोग गर्दै आएको खानेपानीको श्रोत सुकेको छ । घर संख्या बढ्दै गएपछि भएका स्रोतले पुग्न छाडेको छ ।

खानेपानीको यस्तै समस्या समाधानका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले धनकुटा, महालक्ष्मी र पाख्रिबास नगरपालिका तथा छथर जोरपाटी, चौविसे, साँगुरीगढी र शहिदभूमि गाउँपालिकामा अभियानकै रूपमा भूमिगत र लिफ्ट प्रविधिमा आधारित खानेपानी आयोजना सञ्चालन गरिएको छ । 

जलवायू अनुकुलन, खानेपानी तथा सरसफाइ, सहलगानी र सेवा बिस्तारमा आधारित सानाठूला ६८ वटा आयोजनाका एकसय ३२ वटा स्कीम सञ्चालनमा छन् । महालक्ष्मीको लेगुवा, छथर जोरपाटीको तेलिया-तांखुवा, सिंधुवा, चौविसेको फलामेटार, साँगुरीगढी लगायतका स्थानमा १३ वटा लिफ्ट प्रविधिका आयोजना छन् । 

यी सबै आयोजनाले धनकुटाका १३ हजार घरधुरीका करिब १७ हजार उपभोक्तामा खानेपानी सुबिधा थपिने छ । यी मध्ये केही आयोजना सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् ।

कार्यान्वयनका चरणमा रहेका आयोजनाले समयमै पूर्णता पाए एकघर एक धाराको राष्ट्रिय अभियानमा टेवा पुग्ने अपेक्षा गरिएको छ । धनकुटाको कुल जनसंख्या मध्ये ८५ प्रतिशतमात्रै आधारभूत खानेपानीको पहुँचमा छन् । स्वच्छ र सुरक्षित खानेपानीको उपलब्धता भने २५ देखि ३० प्रतिशतको बीचमै सीमित छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।